इन्जिनियरिङमा बढाइएको शुल्क फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क बढाएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाइएको र तत्काल बढाइएको शुल्क घटाउन माग गरिएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
अनेरास्ववियुले अवैज्ञानिक र अव्यवहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।

विश्वविद्यालयहरु दिनप्रतिदिन कमजोर हुँदै जाने तर शुल्क निरन्तर वृद्धि हुने विकराल परिस्थितिको अन्त्य गर्न अनेरास्ववियुले माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्याएको छ ।
सर्वसुलभ रुपमा गरीब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्देलित रहेको पुष्टि भएको अनेरास्ववियुको आरोप छ ।
देशका विद्यार्थीहरुको पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रुपमा इन्जिनियरिङ विषय पढाउनु पर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कदापी मान्य नहुने अध्यक्ष समिक बडालले बताए ।









