सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

दाङ । पूर्वसभामुख समेत रहेको नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारलाई सघाउन आफू तयार रहेको बताएका छन् ।
मंगलबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महसारले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा आफ्नो नाम पनि जोडिएको भन्दै यसबारेको अनुसन्धानमा सरकारलाई सघाउने बताए ।
‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु,’ उनले भने, ‘अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’
सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीका रुपमा मात्र चिनेको बताए । सुन तस्करीमा टेलिफोन संवाद गरिएको भनिएको तर आफूले त्यस्तो कुनै संवाद नगरेको पनि उनको दाबी छ । वाङले आफूलाई इलेक्ट्रिोनिक चुरोट भन्सारमा रोकिएको र निकालिदिन आग्रह गरेको उनले बताए ।
‘सुनको स पनि कुरा भएको थिएन,’ उनले भने, ‘मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो । यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’








