उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो । “घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो”, नयाँ दिल्लीबाट कुरा गर्दै उनले भने ।

घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रूपमा, स–साना होटेल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।

उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =