क्यान्सरले थलिएकी जानकीलाई बचाउने अभियानमा पारस

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाकी एक महिला क्यान्सरबाट थला परेकी छन् । बुढीगंगा नगरपालिका वडा नम्बर १० की ३५ वर्षिया जानकी बिक विगत केही महिना देखि क्यान्सरबाट पीडित छन् ।
उनको अहिले भारत बम्बईको टाटा अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकी जानकीको उपचारमा खर्च अभाव भएको छ । उनको उपचारमा करिब १० लाख जति खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, उनको पारिवारिक अवस्था निकै नाजुक रहेको छ ।
क्यान्सर पीडित विकको उपचारका लागि भन्दै बाजुराका युवा पारस रावल लगायतको टिमले आर्थिक सङ्कलन गरिहरेको छ । जानकीको उपचारका लागि हालसम्म करिब ७ लाख ७२ हजार आर्थिक सहयोग सङ्कलन समेत भएको छ ।
जानकी बचाउ अभियान मार्फत सामाजिक सञ्जाल मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ ।
नेपालबाट पारस रावल, हंस बिक तथा भुवन नाथ र राजेन्द्र जोशीले आर्थिक सहयोग सङ्कलन गरेका छन् । उता भारतमा पनि शङ्कर बिक, निर्मल विक, बाजुराजा बिक, र हरिस साउँद लगायतले आर्थिक सहयोग सङ्कलन गरिरहेका छन् ।
बाजुराका पारस रावल विगत लामो समयदेखि समाजसेवामा छन् । उनले गरिब र टुहुरा बालबालिकाका लागि समेत बेलाबेला आर्थिक सहयोग गर्दै आएका छन् ।








