यो नै मेरो अन्तिम कार्यकाल हो, अब पालो युवाको : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।

शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए ।

देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ आफूले सहयोग गर्ने मात्रै रहेको बताए ।

देउवा भन्छन्, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्ने वाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागे मात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =