महँगोमा ६ अर्बको सैन्य सामग्री किन्दै नेपाली सेना

काठमाडाैँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ । सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य सामग्री खरिद विषयमा आफूलाई जानकारी नभएको बताए । ‘नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन, म बुझेर खबर गरौंला,’ उनले भने ।

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ । जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो । कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपिसी किन्ने भएको छ ।

भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपिसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ । भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *