माधवको नजर- एमाले अलोकतान्त्रिक, कांग्रेस-कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् । मदन-आश्रित स्मृति दिवसलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए । उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै जबजबाट विचलित भएको बताए । पार्टीको यस्ता विचार र नेताहरूविरुद्धमा जुध्न एमालेका नेताहरूले आवाज उठाउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्रहरू विद्यमान छन् । त्यसो भएकाले पार्टीहरूको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यकता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरूलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसका विरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । उनले नेपालमा काँग्रेस, कम्युनिस्टबिच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको उल्लेख गरे । सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उनले तर्क गरे । नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौती रहेको अध्यक्ष नेपालको भनाई छ ।

उनले अगाडि भने, ‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिस्ट, के काँग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाऊँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौती हाम्रो सामु विद्यमान छ, कम्युनिस्ट पार्टीभित्र दिक्क लाग्दो अवस्था मबाट सुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =