भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदकाे कामकारबाही राेकाैँ : सांसद गैरे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका छन्् ।

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङगर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनको आक्रोश थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे । उनले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न समेत गरे ।

‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो,’ उनले भने, ‘२७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङ पनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन । म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु । र, भन्न चाहन्छु–यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ । यति प्रगति भएको छ । हामी यो गर्दैछौँ भनेर भन्न के कारणले समस्या भईरहेको छ ? आज देशव्यापी रुपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आजटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने विश्वास छैन । अस्ती २८, २९ र ३० गते बसेको नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले संस्थागत रुपमा यसमा निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न माग समेत गरेको छ । यस सन्दर्भमा म आजको यस बैठकमा यस विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्छ । अनि, मात्रै सदनको काम अघि बढनुपर्छ भन्ने कुरा म माग गर्न चाहन्छु । ध्यानाकर्षण गराउन चाहन्छु । र, यो जघन्य अपराधको निष्पक्ष छानविन होस् । दोषीलाई कारबाही होस् । र, अन्य जनप्रतिनिधिको नाममा, पार्टीको नेताको नाममा वा अरु कुनै पनि व्यक्तिको नाममा गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई निरुत्साहित गर्न, दण्डनीय बनाउन यो संसद दृढतापूर्वक उपस्थिति हुनु पर्दछ । र, सरकारले तदनुरुपको काम गर्नु पर्दछ भन्ने कुराको म ध्यानाकर्षण गराउन चाहन्छु । र, सभामुखज्यूलाई त्यो अनुसारको रुलिङ गर्न माग गर्दछु ।’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =