झट्केलो छोरोप्रति रायमाझीको स्पष्टीकरण : ‘हराएका माननीयको खोजी गरेको हो’

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजी गरेको रूपमा लिन आग्रह गरेका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य समेत गरे ।
उनी भन्छन्, ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरूले आफ्नै सन्तान बनाउन हिजो साथीहरूले भन्नुभयो, मैले उहाँहरूको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुसी हुनुहुन्थ्यो, त्यस कारण पनि एउटा माननीय सूचना नदिईकन, काठमाडौँ आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजी गरेको हो । यसमा उहाँहरूले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’
राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको समेत बताए ।









