घोषणापत्र जारी गर्दै सकियो पोखराको ताल सम्मेलन

पोखरा । विभिन्न ५ बुँदे घोषणापत्र जारी गर्दै पोखरामा जारी ३ दिने ताल सम्मेलन सकिएको छ । ताल संरक्षण तथा विकास प्राधिकरणले आयोजना गरेको सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर सम्मेलन गरिएको हो । सम्मेलनमा २० वटा प्रस्तुति राखिएको थियो भने तालको स्थलगत अध्ययन समेत भएको थियो ।

पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्त्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्त्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ ।

स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरू र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समूहहरू मध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ ।

तालको बुद्धिमत्तापूर्ण प्रयोगको सिद्धान्तका आधारमा तालको संरक्षण गर्ने, तालको पुनःस्थापना र दिगो विकासको लागि स्रोत र ज्ञानहरू आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकारवालाबीचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मञ्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =