शान्त लुम्बिनीमा अशान्त चिनियाँ व्यवहार

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ गतिविधिले मायादेवी मन्दिर परिसरलाई अशान्त बनाएको छ । चिनियाँ गुम्बाले मायादेवी मन्दिर परिसरभित्र स्टेज बनाएर नै ठुलो साउण्ड सिस्टममा कार्यक्रम गरेपछि लुम्बिनी विकास कोषको आलोचना भएको हो ।
बुद्ध जयन्तीको अघिल्लो दिन बिहीबारसाँझ चिनियाँ गुम्बाले आयोजना गरेको कार्यक्रममा शान्ति क्षेत्र मायादेवी मन्दिर परिसरलाई अशान्त बनाएको भन्दै आलोचना भएको छ । यस विषयलाई मिलाउनको लागि चिनियाँ राजदूत चेनसोङ १५ दिनअघि नै लुम्बिनी आएका थिए । उनीसहित आएको टोलीलाई मायादेवी मन्दिर परिसरमा कार्यक्रम गर्न पाउनु पर्ने विषयमा गुम्बाका भिक्षुहरूले गरेको आग्रहमा राजदूत चेन सोङको पहलमा लुम्बिनी विकास कोष निरीह बनेको हो ।
केही समयका लागि दीप प्रज्वलनको अनुमति लिएको चिनियाँ गुम्बाले मायादेवी मन्दिर परिसरमा साउण्ड सिस्टम, बोर्ड सहितको स्टेज बनाएर कार्यक्रम गरेको थियो । लुम्बिनी विकास कोषले दीप प्रज्वलन कार्यक्रमको अनुमति लिएर चिनियाँ गुम्बाले स्टेज बनाएको स्वीकार गरेका छन् । ‘दुई घण्टाका लागि भनेर अनुमति दिइएको थियो,’ एक अधिकारीले भने, ‘स्टेज बनाउन अनुमति लिएको थिएन, स्टेज बनाएको कुरामा।हामी चिन्तित छौँ ।’
युनेस्को विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमा होहल्ला सहितको कार्यक्रम गरिनुलाई धेरै राम्रो मानेका छैनन् । लुम्बिनीमा आयोजना भएको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्बोधन गर्दै विश्वमा बुद्ध दर्शनको केन्द्र लुम्बिनी भएको तर्क गरे ।








