समाजवादी मोर्चा बनाएर नेकपा पुनर्जीवित गरौँ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक नेतृत्वको पक्षमा रहेका कम्युनिस्टहरू नेकपातिर फर्कनु पर्ने बताएका छन् । उनले कम्युनिस्ट पार्टी एकता हुनु देश र जनताले खोजेको भन्दै गणतन्त्र मजबुत बनाउन एकता गरेर जानुको विकल्प नभएको बताए ।
आइतबार राष्ट्रिय सभा गृहमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको उपलब्धि, चुनौती र सम्भावना विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
‘कम्युनिस्ट पार्टी एकता र संघर्ष र रूपान्तरण गर्नुपर्छ, कम्युनिस्ट पार्टी अलग भएर राज्यलाई घाटा लागेको छ,’ उनले भने, ‘एकता गरेर जनताको माग पूरा गर्नु पर्छ । कम्युनिस्ट पार्टीले लिने सिद्धान्त दलाल पुजीलाई परास्त गर्ने । सामुदायिक नेतृत्वको रुपमा लिएर हिन्ने । सामूहिक नेतृत्वको पक्षमा रहेका कम्युनिस्टहरू नेकपा तिर फर्कनु पर्छ । आउनुहोस् बसै सबै । एकताको नयाँ पहल सुरु गरौँ । राष्ट्रियताको लागि मोर्चा गरेर अगाडि बढ्यौ । त्यहाँबाट एउटा कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । अब नेकपा पुनर्जीवित गरौँ । यसले एमालेमा पनि ठुलो डिभेटतयार गर्ने छ ।’
साथै, उनले नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिस्टहरू एक हुन जरुरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौँ नेकपातिरै फर्किनुपर्छ । कम्युनिस्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अंगीकार गर्यो भने ठुलो क्षति हुन्छ ।’
नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै अहिले पनि कम्युनिस्टहरू एक हुन जरुरी रहेको बताउँदै उनले भने, केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किने अपिल गर्छौ ।
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै भने, नेकपा एकता एकाध नेताको सन्कीका कारण दुर्घटनामा परेको छ, आम जनताले अनुमोदन गरेकाले त्यसलाई पुनर्जीवित गर्न जरुरी छ ।









