रास्वपाको भित्रि आकलन- ‘चितवन र तनहुँ सुनिश्चित, बारामा भन्न सकिन्न’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) १० वैशाखको उपनिर्वाचनपछि २२ सिट लिएर संसदमा प्रवेश गर्ने चाहनामा छ । उपनिर्वाचनमा तीन ओटै क्षेत्र ‘क्लिन स्वीप’ गर्ने उनीहरुको सार्वजनिक उद्घोष रहँदै आएको छ । तर, उपनिर्वाचन हुने ३ वटै सिटमा जितिन्छ भनेर भित्रिरुपमा ऊ आफैँ आश्वस्त हुन सकेको छैन ।

‘चितवन २ र तनहुँ १ चाहिँ हाम्रो जित सुनिश्चित हो,’ रास्वपा केन्द्रीय कमिटीका एक नेताले मकालु खबरसँग भने, ‘बारा २ मा चाहिँ भन्न सकिन्न । त्यहाँ पनि हाम्रो उम्मेदवार बलियो नै हुनुहुन्छ । तर त्यहाँ जातीय, क्षेत्रीय असर पर्ला जस्तो देखिएको छ ।’

रास्वपाबाट हाल चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले, र बारा २ मा रमेश खरेल चुनावी मैदानमा छन् । खरेलको क्षेत्र बारा २ मा जनता समाजवादी पार्टी जसपाका सांसद राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको हो । सो क्षेत्रमा तराई मधेसी समुदायको बाहुल्यता रहेको कारण रास्वपाले आफ्नो उम्मेदवारले नजित्ने हो कि भन्ने आशंका गरिरहेको रास्वपाका अर्का केन्द्रीय सदस्यले बताए ।

‘पूर्व डिआइजी रमेश खरेलप्रति पनि जनता त्यो क्षेत्रमा निकै सकारात्मक त छन्,’ उनले भने, ‘चुनावी राजनीतिमा जातीय मुद्दाले पनि काम गर्ने भएकाले निर्वाचन हो यसै भन्न सकिने अवस्था छैन । तर चितवन २ र तनहुँ १ को जस्तो सहज पनि त्यहाँ छैन ।’

को-को छन् तीन निर्वाचन क्षेत्रका उम्मेदवार ?
चितवन २ : टेलिभिजन पत्रकारिताबाट राजनीतिमा उदाएका रास्वपा सभापति रवि लामिछाने चितवन २ का उम्मेदवार छन् । पत्रकारिता गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीको पीडा, देशको अनियमितताविरुद्ध आवाज उठाएको र देशको सार्वजनिक र सामाजिक काममा सक्रिय भएको कारण धेरै मतदाताले उनलाई रुचाएको देखिन्छ । समाजको विकृति समस्याहरूको बारेमा खरो उत्रिँदै आएका उनलाई मंसिर ४ को निर्वाचनमा ठुला राजनीतिक दलका उम्मेदवारलाई पनि फराकिलो मतान्तरले हराएका थिए । ८३९५६ जनाले मतदान गरेको निर्वाचनमा लामिछानेले ४९२६४ भोट पाएका थिए । देशभरमै सबैभन्दा बढी फराकिलो मतान्तरले रवि विजय भएका थिए ।

यो पटक पनि उनको मत बढ्ने रास्वपा उपसभापति डोलप्रसाद अर्याल बताउँछन् ।

‘यो पटक अझ मत बढेर जान्छ । कोण सभामै जनताको उपस्थिति हेर्नु न कति रहर र ऊर्जाले भरिएको छ । हामीलाई जित्न कुनै समस्या छैन । यो पटक रविसँग कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले प्रतिस्पर्धा गर्दै छन् । उनीहरू दुवै चितवन २ का स्थायी बासिन्दा हुन् ।

तनहुँ १ : तनहुँ १ बाट रास्वपा ले पूर्व अर्थविद् स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । वाग्ले नेपाली राजनीतिमा नयाँ पुस्ता तथा वैदिक र प्रखर रहेको कारणले तनहुँको निर्वाचन आफूले जित्ने रास्वपाको दाबी छ । गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यहाँको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले वाग्लेसँग प्रतिस्पर्धा गर्ने भएका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराई गठबन्धनका साझा उम्मेदवार हुन् ।

त्यस्तै, पूर्वआईजीपी खनाल र अर्थशास्त्री वाग्लेको उम्मेदवारी परेकाले तनहुँ १ मा तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । तर यो क्षेत्रमा रास्वपा आफूले जसरी पनि जित्ने बताइरहेको छ ।

बारा २ : बारा २ रास्वपा का खरेलले जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र एमालेबाट एमालेका पुरुषोत्तम पौडेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डा कमरुल्लाह अन्सारी उम्मेदवार छन् ।

मंसिर ४ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेको कुशवाहा अहिले सिके राउतको पार्टी जनमतमा छन् । गत निर्वाचनमा जसपाका रामशाहप्रसाद यादवसँग हारेका उनको यो पटक बारा २ मा राम्रो माहोल छ । यसले गर्दा गठबन्धनले सहयोग गरेको उम्मेदवार उपेन्द्र यादवलाई पनि धक्का लाग्ने स्थिति छ ।

यादवलाई ठुला दल कांग्रेस, माओवादीको साथ रहे पनि जित्ने सम्भावना कम रहेको आङ्कलन छ । ४ मंसिरको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ मत पाउँदा उनले कुशवाहा १३ हजार ४ सय ६८ मत पाएका थिए । कुशवाहा ३५४ मतान्तरले हारेका थिए । तर कुशवाहा माओवादीले उपेन्द्रलाई टिकट दिने भएपछि यही चैत १५ गते जनमतमा प्रवेश गरेका थिए । यही कारण रास्वपाका खरेललाई मधेसमा क्षेत्रीय राजनीति नबुझेको र त्यहाँका जनताको समस्यामा नरुझेको कारण रास्वपाले यो क्षेत्रमा जितकाे सूनिश्चित गर्न सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *