माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा भित्रन थाले तरुल (तस्बिरहरू)

काठमाडौँ। माघे सङ्क्रान्ति आउनै लाग्दा काठमाडौँको कालीमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल भित्रिन सुरु भएकाे छ। माघे सङ्क्रान्तिमा विशेष गरी तरुल, तिलको लड्डु, ध्यू, चाकु, सखरखण्डलगायत परिकार खाने चलन छ । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुलको माग पनि बढ्दै गएको व्यापारीहरू बताउँछन् ।

मागलाई धान्न अहिले कालीमाटीस्थित थोक तरकारी बजारमा देशका विभिन्न भागबाट ठूलो मात्रामा तरुल ल्याइँदै छ। काठमाडौँमा भित्रने तरुलमा ठुलो हिस्सा सर्लाहीले ओगटेको छ । सर्लाहीबाहेक धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीबाट पनि तरुल आयात हुने गरेका छन् ।

कालीमाटी तरकारी बजारमा अहिले सिमल तरुल, हात्तीपाइले तरुल, निलो तरुल, वन तरुल, सेतो तरुल र स्कुसका जरा भित्रिएको छ । कालीमाटी बजारमा हरेक वर्ष माघे सङ्क्रान्तिमा १००० टन भन्दा बढी तरुलको व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् ।

अहिले बजारमा तरुलको आकार र जातअनुसार प्रति ढक (५ केजी) को २ सयदेखि ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । बन तरुल भने प्रतिकेजी २ सय ५० मा बिक्री भइरहेको छ।









