‘गोकर्ण देशे’ बाट बिदा भए नवदुर्गा गण

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको ‘गोकर्ण देशे’ मा भक्तपुरबाट आएको नवदुर्गाका गणलाई बिदाइ गरिएको छ। मल्ल राजा रणजित मल्लको पालादेखि भक्तपुरबाट नवदुर्गाका गण आई गोकर्णेश्वर क्षेत्रमा देखाइने गरिएको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशेका विभिन्न टोलका साथै त्यहाँस्थित मठ मन्दिर क्षेत्रमा तीन दिनसम्म प्रदर्शन गरिएको थियो।

नवदुर्गा नाच प्रस्तुत गर्ने समूहलाई बुधबार बिदाइ गरिएको वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिए। ३३ वर्षपछि ऐतिहासिक महत्वको बस्तीमा नाच प्रस्तुत भएपछि स्थानीयवासी खुसी भएका छन्। स्रोत अभावका कारण ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो। रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने चलन भए पनि बीचमा ३३ वर्ष स्रोत अभावमा बन्द रहेको थियो। यस वर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको हो।

नेपालका ऐतिहासिक राजा मानदेवले बस्ती बसालेको विश्वास गरिएको गोकर्ण देशेमा नवदुर्गा, भैरव, गणेशलगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा–साङ्ला–चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको थियो। नवदुर्गा नाच गोकर्णेश्वर क्षेत्रसँगै पशुपति क्षेत्रको जयवागेश्वरी, बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ। यो जात्राका क्रममा तीन दिनसम्म गोकर्ण देशेमा नाच देखाइएको थियो । नवदुर्गा नाच सकेर बुधबार नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्केका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =