हराउँदै मौलिक लोकसंस्कृति

मुसिकोट। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका – २ का ७२ वर्षीय हर्कबहादुर खत्रीले आफ्नो पालामा दसैँमा गाइने पुराना सिङ्गारु, वनगारी र ढाडी भाका अहिले पनि गुनगुनाउने गर्छन् । पुराना लोकभाकाको खत्रीलाई निकैयाद आउँछ ।

पुरुष फरिया, चोलोमा सजिएर नाच्ने सिङ्गारु नाच, खुट्टामा नेवर लगाएर एउटै तालमा नाच्ने पैसेरु नाच, मयरको प्वाँखबाट बनेको गर्रा लगाएर नाचिने मयूर नाच बिस्तारै गाउँबाट हराउँदै गएका छन् । “गाउँमा युवाहरु छैनन्, भएका पनि ठूलो देश जान्छु भनेर गाउँ छोडेर गैसके”, खत्री भन्छन्, “दसैँ तिहारमा गाउँ त शून्य भइसकेको छ ।”

अहिले गाउँमा न डौरी, मादल बज्छन् न त गाउँमा युवाको जमात छ । पहिलाको पुर्खाले जोगाएर राखेका कलासंस्कृति जोगाउन पनि पछिल्लो पुस्ता लागिपरेका छैनन् । “आधुनिक प्रविधि आयो भन्छन्, सबैको हातमा मोबाइल छ, हाम्रो पालाको जस्तो टेप पनि हरायो”, अर्का स्थानीयवासी पहलसिङ खत्री भन्छन् । पहलसिङलाई पनि आफ्नो मौलिक लोकसंस्कृति हराएकामा दुःख लागेको छ ।

पहलसिङ भन्छन्, “मेला पर्व होस् या पूजा तथा विवाह जताततै कुनै समय पुराना लोक संस्कृति झल्कने नाचहरु प्रस्तुत हुन्थे । त्यो समय गाउँमा रौनकता नै फरक हुन्थ्यो तर अहिले भने त्यस्तो छैन । गाउँमा ठूला–ठूला साउन्ड सिस्टम भित्रिएका छन् । जताततै रेकर्डिङ गीतमा नाच देखिइन्छ । चाड पर्वको रौनकता पनि विस्तारै घट्दै गएको छ ।”

मादल बनाउने बादी समुदायले पनि मादल बनाउन छाडिसके । बजारमा मादल पाइन थाले पनि मादल बनाउने पेसानै धरापमा परेको मुसिकोट नगरपालिका-१३ का काले बादीले बताए । “बजारमा मादल पाउँछ । सबैले बजारकै मादल रुचाउँछन्, हाम्रो पेसा त हराएको छ”, बादीले भने, ‘‘अब हाम्रो पेसा नै पलायन भएपछि जीविका टार्न निकै समस्या भएको छ ।”

अहिले गाउँमा झ्याली, मादल, डौरी, दमाह बजाउने मान्छे पनि छैनन् । ती पुराना मौलिक बाजा बजाउन कसैको चासो छैन । गाउँका प्रत्यकको घर–घरको दैलोमा गीत गाउँदै हिँड्ने गाइने (गन्धर्व) पनि आजभोलि देखिँदैनन् । उनीहरुले कुनै दुःखद घटना वा मायाप्रेमका विषयलाई गीतमार्फत सुनाउने गर्दथे । उनीहरुले बजाउने सारङ्गी पनि बिस्तारै हराउँदै गएको बाँफिकोट गाउँपालिका-२ का वडाध्यक्ष प्रकाश खत्री बताउछन् ।

जिल्लामा लाग्ने ठूला मेलाहरुमा पनि पुराना मौलिक लोकसंस्कृतिभन्दा पनि बाहिरबाट कलाकारहरु झिकाएर भड्किलो नाच, गान देखाउन थालिएको छ । पुराना मेलाहरुलाई पनि महोत्सवका रुपमा टिकट काटेर हेर्नुपर्ने भएको छ ।

लामो समयसम्म विभिन्न मेलामा स्थानीय लोक भाका गाउँदै आएका कलिभान गिरी पछिल्लो पुस्ताले सबै कला, संस्कृति भुलेकामा चिन्ता व्यक्त गर्छन् । गाउँमा स्थानीय लोकभाका गाउने कोही छैनन् । कलिभान गिरीसहितको एउटा टोलीले मात्रै रुकुम पश्चिमको अधिकांश क्षेत्रमा पुराना संस्कृति देखाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =