कालिकोटको पलाताका सुब्बा बमको नाममा २ लाख ३४ हजार बढी बिगो
सुर्खेत । कालिकोटको पलाता गाउँपालिकाका नायव सुब्बा राजबहादुर बम विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ ।
सुब्बा बमले साबिक जिल्ला विकास समितिको कार्यालयमा खरिदार हुँदा जिविसको कार्यालयका लागि खरिद गरिएका सिलाई मेसिन खरिदमा नक्कली बिल बनाएर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको भन्दै अदालतमा आरोप–पत्र दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । आयोगका अनुसार साबिकको जिल्ला विकास समितिको कार्यालय, आर्थिक वर्ष २०७०र०७१ मा सञ्चालन भएका उपेक्षित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको थियो ।
उक्त उजुरीका आधारमा बम साबिकको जिविस कार्यालय कालिकोटको खरिदार हुँदा कार्यालयको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तरगतको लक्षित कार्यक्रममा सिलाई मेशिन खरिद र उक्त सामानको ढुवानी गरेको खर्च देखाई पेस्की फर्छ्यौट गर्दै झुट्टा बिल बनाएका थिए । बम उक्त कार्यक्रमका फोकल पर्सन समेत रहेका थिए ।
उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड (ङ) बमोजिम कसुर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा बिगो दाबी र सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय र बिगोबमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम नक्कली बिलको भुक्तानी लिएको बिगोसमेत बमबाट असुल्न माग दाबी गरेको छ ।
साथै आयोगले बमलाई आयोगको ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३६ बमोजिम मङ्गलवार विशेष अदालतमा आरोप–पत्र दायरसमेत गरिएको छ ।