ध्वनि प्रदूषणले सुत्न नपाएकाे भन्दै गोदावरीका महिलाले दिए उजुरी

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँच जना महिलाहरूले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनि प्रदूषण गराएर रातभरि सुत्न नदिएको भन्दै न्यायिक समितिमा साउनको सुरुमै उजुरी दर्ता गराएका छन् ।
साहले घरभित्रै वर्कसप सञ्चालन गरेर गाडी मरम्मतका कामहरू समेत गर्दा आउने ध्वनि प्रदूषणलाई रोक्न छिमेकीहरूले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत सुनवाइ नभएपछि न्यायिक समितिमा उजुरी दिनु परेको गोदावरी नगरपालिका ३ की पवित्रा आचार्यले बताइन् ।
महिलाहरूले सामूहिक रूपमा दिएको उजुरीमा साहमाथि चारवटा आरोप लगाइएको छ । उजुरी कर्ता महिलाहरूका अनुसार साहले नेपाल सरकारको सवारी मापदण्ड विपरित धेरै पुराना गाडीहरू घर कम्पाउन्डभित्र ल्याएर छिमेकीलाई साउन्ड पोलुसन हुनेगरी गाडीको वर्कसप सञ्चालन गरिरहेका छन् ।
बस्तीभित्र वर्कसप सञ्चालन गर्दा छिमेकीहरूको सहमति लिनु पर्नेमा त्यो केही गरिएको छैन । पाँच वर्षदेखि उक्त काम गरिरहेको भएपनि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायहरूमा पटक पटक जानकारी गर्दा समेत कुनै सुनवाइ नभएको बताए ।
गएको माघ १३ गते स्थानीय समुदायले नजिकको प्रहरी चौकी र वडा कार्यालयमा ध्वनि प्रदूषण भएको भनेर उजुरी गरेका थिए । लगतै माघ २० गते जिल्ला प्रहरी कार्यालय ललितपुरलाई शान्ति सुरक्षा सम्बन्धी निवेदन साहका छिमेकी पवित्रा भण्डारी आचार्यले दिएकी थिइन् ।
जिल्ला प्रहरीले प्रहरी प्रभाग बाँडे गाउँलाई कारबाही लागि पत्राचार गरेको भएपनि लामो समयसम्म साहलाई कुनै कारबाही गरेको पाइँदैन । साह उद्यमी भएकाले उनको पहुँचले कारबाही गर्न जनप्रतिनिधिहरू पनि हिचकिचाइ दिनाले सर्वसाधारणले दुःख पाएको देखिन्छ ।
उजुरी कर्ता आचार्यका अनुसार पटक पटक ताकेता गर्दा प्रहरीले एक पटक उनको घरमा आएर साउन्ड डिटेक्टर लगाएर एसीको आवाज परीक्षण गरेको थियो । सो परीक्षण पछि राजबहादुर साहको घरमा बस्नेहरूलाई प्रहरीले बोलाएर अत्यधिक आवाज दिने एसी नचलाउन वा छिमेकीलाई ध्वनि प्रदूषण नहुने व्यवस्था मिलाउन आदेश दिए पनि साह पक्षले मानेको देखिँदैन ।
दिनभरि काम गरेर राती सुत्ने बेलामा निन्द्रा खल्बलिने गरी साहका घरमा पालिएका पाँच कुकुरहरू मध्ये दुई वटा ‘टिबेटियन मासटीफ’ जातका छन् । ती कुकुरहरू एकोहरो भुकिरहने बानी भएकोले छिमेकीहरू रातभर सुत्न पाएका छैनन् ।
उनीहरूका अनुसार उक्त जातको कुकुरलाई चीन र अमेरिकाको केही प्रान्तमा पाल्न बन्देज लगाइएको छ । तर नेपालमा टोलै थर्काएर रातभर भुकिरहने कुकुरबाट छिमेकीलाई परेको असरबारे कसैले सुनवाइ नगरेको महिलाहरूको दुखेसो छ ।
लामो समयदेखि न्यायका लागि विभिन्न सरोकारवालाहरूलाई गुहारी रहेका टौखेलका महिलाहरूले गोदावरी नगरपालिका वडा नं। ३ मा फागुन ३० गते दर्ता नं। १९५२ मा दर्ता गरेका छन् । तर त्यसले पनि कुनै निकास नदिएकोले अन्तिममा न्यायिक समितिमा उजुरी हालिएको पीडित महिलाहरूले बताएका छन् ।
साहले बनाएको घर तथा आवास सम्बन्धी मापदण्ड विपरित कम्पाउन्डबाट बाहिरतर्फ खुल्ने गेट राखेको र मुलुकी अपराध संहिता २०७४ को दफा १४८को ख १४९ र १५० विपरित सार्वजनिक रूपमा भोग चलन गर्दै आएको तथा छिमेकीहरूको सहमति बिना मनोमानी ढंगबाट सडकलाई क्षति पुर्याएको आरोप उक्त निवेदनमा लगाइएको छ ।
उजुरी निवेदनमा वातावरण संरक्षण ऐन २०५३ विपरित साहले हालसम्म कुनै पनि निकायबाट स्वीकृति नलिई मानव शरीरको लागि घातक हुने ग्रिस, मेटल , डस्ट, पेट्रोल डिजेलका टक्सी, धुवाँ लगायत अन्य हानिकारक रसायन उत्सर्जन गरी प्राकृतिक वातावरण प्रदूषित हुनेगरी, यान्त्रिक ध्वनि प्रदूषण हुनेगरी लामो समयदेखि वर्कसप सञ्चालन गर्दै आएको भनिएको छ ।
साथै वर्कसप सञ्चालन गर्न चार किल्लाको सहमति लिनुपर्नेमा सो केही नलिई सञ्चालन गरेकाले कारबाही गरिपाऊँ भनी न्यायिक समितिमा उजुरी दिएका हुन । घरमा धेरै समय महिला नै बस्नु पर्ने भएकोले ध्वनि प्रदूषणले गर्दा विद्यार्थीहरूले पढ्न नपाएका तथा महिलाहरू बढी पीडित भएका निवेनकर्ताहरूले बताएका छन् ।
उजुरी गर्ने महिलाहरू गोदावरी नगरपालिका वडा नं। ३, टौखेलका पवित्रा भण्डारी आचार्य, मन्दिरा कुँवर, बिना कुँवर, रबिना तामाङ तण्डुकार र कोपिला कुँवर छन् ।








