सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदी चोर्ने गिरोह पक्राउ (भिडिओसहित)

काठमाडौँ । काठमाडौँको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राती १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी वृत्त माली गाउँबाट संयक्तरूपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

घटनाबारे जानकारी पाउनेबितिकै मन्दिरमा पुगी अनुसन्धानका विविध विधि र प्रविधिहरूको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरगहनासहितको खोजी कार्य सुरु गरिएको र मूर्तिमा जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्धार्थ बुढाथोकी रहेको उनले बताए । उनीहरूबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगायतका सामाग्री फेला परेको मैनालीले बताए ।

पक्राउ गर्नेहरूलाई काठमाडौँ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी वृत्त, माली गाउँबाट थप अनुसन्धान भइरहेको मैनालीले जानकारी दिए ।

भिडिओः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =