नेपालमा ४० लाख पुगे करदाता

काठमाडौँ । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।
प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तीन वटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।
आव २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तःशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्यामा वृद्धि भएको हो । यो वर्ष आयकरतर्फ स्थायी लेखा नम्बर लिनेको सङ्ख्या छ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।
यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ता हुनेको सङ्ख्या दुई लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तःशुल्क इजाजत पत्र लिनेको सङ्ख्या एक लाख तीन हजार ४२३ पुगेको छ ।
डाक्टर र इन्जिनियरले नै तिर्दैनन् कर
महालेखाको प्रतिवेदनअनुसार चिकित्सक, इन्जिनियर, वकिल, सल्लाहकार, लेखा परीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेसाविद्, अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ ।
महालेखाले ५८औँ प्रतिवेदनमा समेत पेसाविद्हरूले आफ्नो पेसागत प्रमाणपत्रलाई नवीकरण गर्दा कर चुक्ता वा कर विवरण पेस गरेको प्रमाणपत्र माग गर्ने व्यवस्था गर्नुपर्ने कुरा उठाएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पेसा व्यवसायमा संलग्न व्यक्तिको पेसागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
महालेखाले सम्बद्ध निकायबिच अन्तरबद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।








