जसपामा बाबुराम भट्टराईले देखेका सात समस्या !

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ७ कारणहरूले पार्टी बिग्रेकाे बताएका छन् । मंगलबार शुरू भएकाे केन्द्रीय समितिकाे विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् भट्टराईले यसबारे औंल्याएका हुन् ।

 

उनले ‍औंल्याएका विषयहरूमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायत छन् ।

०००

१, वैचारिक भिन्नता

बाबुरामले पार्टीमा मुख्यरूपमा वैचारिक समस्या देखिएकाे बताएका छन् । पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएको भएपनि कार्यान्वयनका क्रममा बुझाइमा एकरुपता नभएको उनले बताएका छन् ।

‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेश आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्त्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो ।’

२, संगठनात्मक समस्या

उनले दाेस्राे समस्याका रूपमा सङ्गठनात्मक स्वरूप रहेकाे औंल्याएका छन् । पार्टीको संगठन व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको मात्र होइन, समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको उनकाे आराेप छ ।

‘जनसंगठनहरू समायोजन गर्ने, प्रभावकारी परिचालन गर्ने र इन्चार्ज तोक्ने काम पनि भएन,’ उनले भनेका छन्, ‘संगठन बिल्कुलै तदर्थवादी बन्दै गयो । संगठनभित्र यतिधेरै झमेला, अविश्वास, द्वन्द्व र तनावहरु देखिए, त्यसको निरुपण समाधान गर्नुको साटो कुनै एक पक्षलाई उचाल्ने, काखी च्याप्ने र झमेलालाई सदावहार बनाइराख्ने काम भयो ।’

त्यहीकारण पार्टी संगठन विस्तार हुन नसकेको भट्टराईकाे भनाइ छ ।

३, नेतृत्वको पद्धति र मोडालिटी

भट्टराईले पार्टीको नेतृत्व एकल हुने कि सामूहिक भन्ने विषयमा मतभेद देखिएको बताएका छन् । एकल अध्यक्ष भए पनि महत्त्वपूर्ण विषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनुपर्ने भए पनि अध्यक्षमा त्यस्तो रुची नदेखिएको उनले बताएका छन् । ‘एकल अध्यक्ष हुनुको अर्थ सबै महत्त्वपूर्ण निर्णय अध्यक्षले एक्लै गर्नु भन्ने संसारमा कहिँ पनि लाग्दैन । अध्यक्ष पार्टीको मूल नेता हुन्छ । तर, महत्त्वपूर्ण विषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनै पर्दछ,’ भट्टराईले भनेका छन् ।

समिति प्रणालीबाट संस्थागत निर्णय भएका विषयलाई पार्टीको दैनिक जीवनमा लागू गर्नु गराउनु मूल नेतृत्वको जिम्मेवारी र नैतिक दायित्व भएपनि त्याे नहुँदा समस्या देखिएकाे उनकाे भनाइ छ । ‘यो मान्यता र पद्धतिलाई पालना गर्न अनिच्छा देखियो । सामूहिक नेतृत्वको अभ्यासलाई अलि ठोस बनाउने प्रयत्न स्वरुप ‘तीन सदस्य मुख्यालय’ गठन भयो तर त्यो प्रयोगमा आएन,’ उनले भनेका छन् ।

४, कार्यशैलीको प्रश्न

भट्टराईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएकाे बताएका छन् । ‘खासखास मान्छे कामैकामले थिचिएजस्तो हस्याङफस्याङ गर्दै दौडधुप गरिरहने तर, पार्टीपंक्तिको ठूलो संख्या वर्षाैँ जिम्मेवारीविहीन र बेरोजगारजस्तो रहने कार्यशैलीबाट बलियो र प्रभावकारी पार्टी बन्न सम्भव नै हुँदैन,’ उनले भनेका छन् ।

यादवले पार्टीको कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएको निर्णय र रुलिङलाई माइन्युट गर्न पनि अनिच्छा देखाएको र आपसमा समन्वय नगरेको बताएका छन् । बैठक बोलाउँदासमेत फरक विचार राख्न सक्ने सदस्यलाई सूचना नै नदिने वा असाध्यै ढिलो दिएको, पार्टीमा जिम्मेवारी बाँडफाँट राम्रोसँग नगरेको पनि भट्टराईले बताएका छन् । ‘व्यक्ति व्यक्तिले आफू खुसी टिकट बाँड्दै हिँड्ने, फरक पृष्ठभूमि वा समूहको भए पूर्वाग्रह राखेर टिकट नै नदिने, कतिपय ठाउँमा एउटै पदका लागि फरकफरक व्यक्तिबाट टिकट जाने एकभन्दा बढी उम्मेदवारले मनोनयन गर्ने, कतिपय ठाउँमा मनोनयनको दिन बिहानसम्म पनि टिकट नपुग्ने, गठबन्धनको संस्थागत संवाद र प्रयत्न नगर्ने यस्ता अनेक समस्या जताततै देखिए । जसको कारणले गर्दा पार्टीको उम्मेद्वारी संख्या र परिणाम निक्कै कमजोर बन्न पुग्यो’ भट्टराईले भनेका छन् ।

५, व्यवस्थापनको समस्या

उनले पार्टी एकताको करिब ३ वर्षमा पार्टीको आर्थिक जीवन, आय स्रोत, व्ययको शीर्षकबारे कहिल्यै कुनै बैठकको एजेण्डा नै नबनेको बताएका छन् । यस्तै अन्य पाटाेका व्यवस्थापन पनि कमजाेर बनेकाे उनकाे भनाइ छ । खर्चको नियमितता र पारदर्शीताका लागि नियमित खर्चको फाँटबारी पेश गर्ने कामसमेत नभएको, पार्टी स्रोतको समुचित उपयोग कसरी गर्ने र त्यसबाट कसरी बढीभन्दा बढी राजनीतिक लाभ लिने भन्नेतर्फ कुनै सोच पनि नबनेको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्— ‘पार्टीका बैठकबाट काम सिर्जना हुने तर त्यसको व्यवस्थापनको पाटोबारे सबै मौन बस्ने, कसैले कुनै उत्तर नदिने वा कुनै संस्थागत प्रयत्न नगर्ने हुँदा गर्नैपर्ने कैयौं महत्वपूर्ण कार्यसमेत सम्पादन हुन सकेनन् ।’

६, सुशासन र डेलिभरीप्रति बेवास्ता गर्नु

भट्टराईले पार्टीले नेतृत्व लिएको मधेश प्रदेश र स्थानीय तहहरूमा कार्यसम्पादन र सुशासनमा ध्यान नदिएको पनि बताएका छन् । ‘मधेश प्रदेशमा सरकारको नेतृत्व थियो, अन्य कतिपय प्रदेशमा पार्टी सरकारमा सामेल थियो, संघीय सरकारमा केही मन्त्रीहरू रहे, यिनीहरूकाे कार्यसम्पादन क्षमतालाई सुशासन र सेवाप्रदायनका दृष्टिकोणबाट कसरी अरु पार्टीको भन्दा अब्बल बनाउने र त्यसले सिर्जना गर्ने जनाकर्षणमार्फत् पार्टीलाई लोकप्रिय बनाउँने भन्नेतिर मूल नेतृत्वको ध्यान नै गएन’ भट्टराईले भनेका छन् ।

पार्टीभित्र यसबारे गम्भीर बहस गर्न र खास प्रारुप तयार गर्न आवश्यक भए पनि ‘यो पहिचान र अधिकारको आन्दोलन लड्ने मात्र पार्टी हो, सुशासन र सेवाप्रदायनमा यसले ध्यान दिन जरुरी छैन’ भन्ने सोच प्रभावी रहेको बताए ।

७, भू-राजनीतिक सोचमा भिन्नताकाे समस्या

भट्टराईले कतिपय कुटनीतिक सवाल र विशेषतः एमसीसी प्रकरणले पार्टीको मूलपंक्तिमै देशको भूराजनीति र परराष्ट्र नीति संचालनबारे फरक सोच देखिएको बताए । ‘तर, मूल नेतृत्वले संसद्‌मा मतदान हुने दिन आएर यो मुद्दामा आश्चर्यजनक र नाटकीय यूटर्न गर्‍यो । प्रचण्ड र माधवकुमार नेपाल समूहको सहजताका लागि तयार गरिएको कथित ‘व्याख्यात्मक टिप्पणी’ को बर्की ओडियो,’ उनले भनेका छन् ।

यसले गम्भीर भू-राजनीतिक विषयमा पार्टीको नेतृत्वसँग प्रष्ट दृष्टिकोण विचार र अडान नरहेकाे देखाएकाे जिकिर बाबुरामकाे छ । एमसीसी लामो समयसम्म देश र राष्ट्रिय राजनीतिलाई नै तरंगित गर्ने विवादित मुद्दा बन्दा पार्टीमा संस्थागत छलफल नगराइएको उनले बताए । ‘एमसीसीलाई समर्थन गरेको नाममा नेतृत्व पंक्तिकै कुनै खास व्यक्ति लक्षित गरी अवान्छित लान्छना लगाउने काम भए,’

पूर्णपाठ हेर्नुस्:



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *