प्रेम, विवाह र वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’

काठमाडौँ । अमेरिका पुगेको एक नेपाली जोडीबिच भयङ्कर मनमुटाबपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ ।

हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास (फिनिक्स बुक, २०७८) को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही बताएर पाठकलाई अर्कै महादेशमा लैजान्छ ।

लेखकले पछिल्ला घटनालाई अगाडि ल्याउने (फ्ल्यासब्याक) शैलीमा उपन्यासमा प्रथम पुरुष(उत्तम पुरुष) का रूपमा रहेर आफ्नो प्रेम, द्वन्द्व, वियोग, संयोग र शैक्षिक जिन्दगीको कथा बताउनुभएको छ । तीस प्रतिशत आफ्नो जीवनका प्रसङ्ग उपन्यासमा ल्याउनुभएका लेखकले भिन्न आर्थिक वर्गबिच हुन सक्ने द्वन्द्व र त्यसको परिणामलाई राम्ररी चित्रण गर्नाका साथै अमेरिकी जीवनलाई थोरै अंशमा भए पनि प्रस्तुत गरेका छन् ।

बिहा पूर्व पहिले नै विद्यावारिधि गर्न गएको विद्यार्थी पछि नेपाल आएर बाबुआमाको रोजाइको केटी बिहे गर्छ र उतै हानिन्छ । पछि युवककी पत्नी पनि अमेरिका पुग्छिन् र दुवै अध्ययन र कामका बिच अमेरिकाको स्वतन्त्रता र स्वच्छन्दता भोग्छन् । काम गर्ने र त्यसबाट पैसा कमाएर कलेज पढ्ने पुरुषलाई पत्नीले हरबखत विलासिताका लागि जोड दिन्छिन्, खाना बनाउने–भाँडा माझ्ने काम पनि पति प्रायः एक्लै गर्न पुग्छ । “दुई दिनको जिन्दगी हो पैसा जोगाएर, प्याक प्याक भएर बाँच्नु छैन मलाई ”, पत्नी भन्थिन् ।

उनीहरूबिच पाठकले सोच्न नसक्नेसम्मको भयङ्कर झगडा चल्छ, पतिले आफूलाई शारीरिक आक्रमण गरेकामा पत्नी प्रहरीसमेत गुहार्न पुग्छिन् । पढाइ सकेपछि आफू नेपाल फर्कने र नातिनातिना खेलाउने बाबुआमाको चाहना दुवैलाई उनकी पत्नी मन पराउँदिनन् । लवाइ, खवाइ र विचार जस्ता विषयमा द्वन्द्वको पराकाष्ठा पुगेपछि ऊ आफूलाई राम्रो पति हुन नसकेको महसुस गर्दै अर्की पत्नीको खोजमा हुन्छ ।

कलेजमा पढ्ने र काम पनि गर्ने पहिलेकी पत्नी आश्माबाट खुशी, शान्ति र आत्मसम्मान पाउन वञ्चित पुरुष पाँच वर्षपछि बाध्य भएर अर्की युवतीसँग साइबर लभ हुँदै भौतिक उपस्थितिमै नेपाल आएर विवाह गर्न पुग्छ । जिम्मेवार र देशभक्त छोरा तथा पति बन्ने पुरुषको इच्छा र कसैको वैवाहिक जीवनमा जबरजस्ती प्रवेश नगर्ने बरु पहिली पत्नीबाट बिलकुल प्रेम नपाउने र आफूले पनि नगर्ने भए मात्र आफू विवाहित पुरुषसँग विवाह गर्ने पछिल्ली युवती अनामिकाको विचार देखाएर लेखकले दोस्री पत्नीको प्रवेशलाई स्वाभाविक बनाउने प्रयास गरेका छन् ।

पत्नीलाई छाडेर केही समय नेपाल आएको पात्रसँग पहिली पत्नीले हरबखत इमेलबाट वा तन्द्रामा पनि आफूसँग प्रेमको भीख मागिरहेकी हुन्छिन् भने उसको नवप्रेमिका अनामिकासँगको प्रेम र हिमचिम बढिरहेको हुन्छ । यस्ता अवस्थामा नयाँ प्रेमिकासँग बिहे गर्ने कुरा सोच्न नसक्ने स्थितिमा पुगेको पुरुषभित्र मच्चिएको हुन्डरीलाई पनि लेखकले स्वाभाविक ढङ्गले यथार्थ चित्रण गर्न सक्नुभएको छ ।

उपन्यासमा मदन आश्रित हत्याको रहस्य, गोरखा भूकम्पका प्रभाव, भारतीय नाकाबन्दी, केही असन्तुष्टिमै गाडी जाम गर्ने र सवारी साधनमा ढुङ्गा हान्ने व्यवहार, पशुपतिनाथ, भक्तपुर, ओशो तपोवन आदि स्थान देखाएर हाम्रो तीर्थस्थल, इतिहास र प्रवृत्तिलाई उजागर गर्नुभएको छ । ठाउँ ठाउँमा विभिन्न लेखक, दार्शनिक, कवि, गायकका भनाइ, गीत कविता तथा सिसिफस, फोनिक्स चरा, सतीदेवी, इन्द्रको आसन आदि जस्ता कतिपय ग्रीक र हिन्दु मिथक तथा गीताका श्लोक उद्धृत गरेर लेखकले आफूलाई अध्येता र बौद्धिक रूपमा चिनाउन पनि खोजेका छन् ।

पाठकलाई सम्बोधन गर्दै लेखिएको प्रायोगिक उपन्यासमा आफूभित्रको द्वन्द्व र उतारचढाव तथा ‘कष्ट तथा बाधाबन्धन आदिबाट छुट्ने काम’ देखाएर शीर्षकलाई सार्थकता दिने प्रयास गरिएको छ । विद्यावारिधि जस्तो उच्च शैक्षिक खुड्किलो सम्पन्न गरेर लेखकले अमेरिकामा गरिएको दुःख र सङ्घर्षबाट ‘मोचन’ पाएका छन् ।

नेपाल –अमेरिका–नेपाल गर्दै प्राध्यापन–लेखनमा सरिक लेखकले नेपालमै स्कुल–कलेजमा अध्यापन गरेको पुरुष पात्रले अमेरिकामा कुचो लाउने, भाँडा माझ्ने आदि काम गरेको प्रसङ्ग उपन्यासमा देखाएर विदेशमा विदेशीले गर्ने यथार्थ काम प्रस्तुत गर्ने हिम्मत गरेका छन् ।

बेहुलीले विवाह मण्डपमै मोबाइल फोन उठाएको तथा पत्नीले पतिलाई तल्लास्तरका शब्द प्रयोग र व्यवहार गरेको चाहिँ हाम्रो चलन र संस्कृतिसँग त्यति मेल खाँदैन । गरिब र दासताबाट मुक्त हुन नचाहँदा नै मानिस दरिद्र हुन्छ भन्ने अनामिकाको पूजापाठमा विश्वास गर्ने र ज्योतिषी देखाएर आफ्नो भाग्य जान्न चाहने व्यक्तित्वमा भने विरोधाभास देखिन्छ ।

आश्मा र अनामिकालाई गरेका सम्झनालगायत अन्य प्रसङ्गहरू अनेक पटक पुनरुक्त भएका छन् । अनामिकासँग रिसाएर हिँडेको पुरुषको तपोवनमा उनैसँग भेट हुनामा नाटकीयता देखिन्छ । पारिजातको ‘शिरीषको फूल’ उपन्यास पढेपछि आफ्नो जिन्दगी निस्सार प्रेममा परेको सुयोगवीरसँग पटक पटक दाँजेको पुरुषले आखिर विनाछोडपत्र दोस्रो बिहे गरेरै छाड्छ जसलाई नेपाली कानुनी दृष्टिले ठिक ठहराउन भने सकिँदैन ।

वर्णविन्यास धेरै ठाउँमा गल्ती देखिन्छ । पुराणकै प्रसङ्ग भए पनि ‘विश्वामित्र’का ठाउँमा ‘वशिष्ठ’ र ‘मेनका’का ठाउँमा ‘उर्वशी’ भएको छ । एकै नाम कतै जेम्स सि–डोब्सन र कतै जेम्स सिडोक्सन भएको छ । नेपालकै मोरङ, झापातिर जन्मेहुर्केका लेखकले कतैकतै मात्र ‘थिएछन्’ जस्तो दार्जिलिङे नेपाली भाषा प्रयोग गर्दा स्वाभाविक लाग्दैन । एक विद्यार्थीको अमेरिका प्रवेश, उसको वैवाहिक जीवन, प्रेम, उतारचढाव, दुःख र सङ्घर्ष तथा सफलताका कथा पढ्दापढ्दै उपन्यास सकिएको पाठकलाई पत्तै हुँदैन । यही नै यसको सफलता मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =