माओवादीले टुङ्ग्याउला केन्द्रीय पदाधिकारी ?

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] ले २०७८ पुस १८ गते नै ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकाे हाे । तर उक्त महाधिवेशनले केन्द्रीय पदाधिकारी टुङ्ग्याउन सकेन । जुन अहिलेसम्म टुङ्गिसकेकाे छैन । अहिले केन्द्रीय कमिटीकाे बैठक काठमाडाैँमा चलिरहेकाे छ । याे बैठकले पनि पदाधिकारी टुङ्ग्याउला किन नटुङ्ग्याउला भन्नेबारे नेताहरू नै दुविधामा छन् ।

उसाे त यसबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रष्टरूपमा बाेलेका छैनन् । उनकाे दस्तावेज पनि यसबारे माैन नै देखिन्छ । केन्द्रीय बहुमत सदस्यहरू भने टुङ्ग्याइनुपर्ने कित्तामा उभिएका छन् । सदस्यहरूले बरु समय थपेर बस्ने तर, पदाधिकारी टुङ्ग्याउनैपर्ने बताएका छन् । केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भनेका छन्, ‘बरु ५/६ दिन बसाैँ, पदाधिकारी टुङ्ग्याउनैपर्छ । याे भद्रगाेल अवस्थामा नराखाैँ पार्टीलाई । यसले राम्राे सन्देश दिएकाे छैन ।’

पदाधिकारी टुङ्ग्याउनेबारे बैठकका मुद्दाहरूले पनि ताेकेरै  केही बाेलेनन् । बैठक शुरू हुँदैगर्दाकाे बखत अध्यक्ष प्रचण्डले सुनाएका ९ मुद्दाहरूमा पदाधिकारी टुङ्ग्याउनेबारे ताेकेरै केही लेखिएकाे छैन । प्रस्तुत मुद्दाहरूमा सदस्यहरूकाे सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ्ग, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध छन् ।

तर प्रचण्डमाथि पदाधिकारी टुङ्ग्याउनैपर्ने दबाब छ । उनले यसअघि पहिल्यै पदाधिकारी टुङ्ग्याउने बचन केन्द्रीय सदस्यहरूलाई दिएका थिए । तर त्याे भएन । यसअघि जेठ र असारभित्र बैठक बसेर टुङ्ग्याउने भनिएकाे थियाे तर प्रचण्डले बैठक सार्दै ल्याए । यसपछि आइतबारबाट शुरू भएकाे याे बैठकले भने टुङ्ग्याउनैपर्ने नेताहरूकाे जाेड छ ।

‘बैठकले पदाधिकारी टुङ्ग्याउनुपर्छ’

नेताहरू चालू बैठकले पदाधिकारी टुङ्ग्याउनुपर्ने बताउँछन् । उनीहरूले पनि प्रचण्डसँग केही भन्न त सकेका छैनन् । तर उनीहरूकाे मत भने टुङ्गिनैपर्नेमा छ ।उनीहरूले प्रचण्डकै मुख ताकिरहेका छन् । तर त्यसमा प्रचण्ड सकारात्मक रहेकाे उनीहरूकाे भनाइ छ । केन्द्रीय सदस्य मातृका यादव यसपटक प्रचण्ड पदाधिकारी टुङ्ग्याउने पक्षमा रहेकाे बताउँछन् । ‘उहाँ यसपटक पदाधिकारी छान्ने पक्षमा हुनुहुन्छ, उहाँकाे हाउभाउले पनि त्यही बताउँछ,’ उनले भनेका छन् ।

अर्का सदस्य गिरिराजमणि पाेखरेल पनि यसपटक पदाधिकारी टुङ्ग्याउनैपर्ने पक्षमा छन् । यद्यपि उक्त अधिकार नेतृत्वसँगै भएकाेले केही भन्न सकिने अवस्था नभएकाे बताउँछन् उनी, भन्छन्— ‘त्याे अधिकार नेतृत्वलाई हुन्छ । त्यसमा उहाँले के गर्नुहुन्छ भन्ने कुरा त एउटा हाे । तर यसपटकचाहिँ टुङ्ग्याउनैपर्ने भन्ने पक्षमा कमरेडहरू हुनुहुन्छ र त्याे राम्राे पनि हाे ।’

अर्का सदस्य डिलाराम आचार्य आफूलाई खासरूपमा यसबारे जानकारी नभएकाे बताउँछन् । उनले भने, ‘हुन पनि सक्छ, नहुन पनि सक्छ ।’ तर हुनुपर्छ भन्ने नै आफ्नाे मत रहेकाे उनी सुनाउँछन् ।

सबैकाे ध्यान महासचिवमा

माओवादी वृत्तमा महासचिव काे हाेला ? भन्ने कुरालाई महत्त्वपूर्णरूपमा हेरिएकाे छ । अध्यक्षपछिकाे कार्यकारी पद भएकाेले पनि महासचिवका आकांक्षीहरू बढिरहेका छन् । यद्यपि उनीहरूले अहिलेसम्म केही बाेलेका छैनन् । मुख्य आकांक्षीहरूमा वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायत छन् । त्यसमा पनि मुख्य दाबेदारहरूमा पुन र शर्मालाई हेरिएकाे छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले मकालुखबरसँग भनेका छन्, ‘उहाँहरूमध्येमै एकजना महासचिव बन्नुहुन्छ । हुन त अध्यक्षले यसबारे केही बाेलिसक्नुभएकाे छैन । तर यसकाे आधारहरू भने छन् र पार्टीभित्रकाे मर्यादाक्रमले पनि उहाँहरूमध्येमै एकजना बन्ने हाे ।’

महासचिवकै आकांक्षी तर नअटाएकाहरूलाई उपाध्यक्ष पदमा राखिने ती नेता बताउँछन् ।

माओवादीले १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने विधान पारित गरेकाे छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =