खोला गाउँ पसेपछि मोरङका ३६७ घर विस्थापित

विराटनगर । मोरङ जिल्लामा डुबान र बाढीका कारण ३६७ घर विस्थापित भएका छन् । आज बिहान ९ बजेसम्ममा १ हजार ३ सय ६७ जनालाई डुबान तथा खोलाका कारण अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ८ को सुकुम्वासी बस्तीमा सिँगिया खोला पसेर डुबान हुँदा २५ घरका ९५ जनालाई सुरक्षित स्थानमा त्रिपालमुनि सारिएको छ। त्यस्तै विराटनगर वडा नम्बर ७ मा ३८ घरका १४५ विस्थापित भएका छन् । विस्थापित भएका मध्ये १७ घरलाई गायत्री माविमा राखिएको छ भने बाँकी आफन्तको सरणमा छन् ।

बेलवारी नगरपालिका वडा नम्बर ६ मा रहेको बाहुनी खैटे खहरे खोला गाउँ पसेको छ। खहरे खोला गाउँ पस्दा ८ घरका ३३ जना आफन्तको सरणमा पुगेको प्रहरीले जनाएको छ। कटहरी गाउँपालिकाको वडा नम्बर १का १५० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले मकालु खबरलाई जानकारी दिए । उनकाअनुसार कटहरी गाउँपालिका वडा नम्बर १ को टाइगर टोलका ८० घरका २८० जना, हनुमान मन्दिर क्षेत्रका ४० घरका १७० जना र नारी विकास क्षेत्रको ३० घरका १०० जना विस्थापित भएका छन् । यी बस्तीमा सिँगिया खोला गाउँ पसेको हो ।

डुबानमा परेका परिवारलाई नारी विकास संस्थाको भवन, एकीकृत कृषि थोक बजार र कतिपयलाई सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिए । त्यस्तै बुढिगंगा गाउँपालिका १ खापटोलमा सिँगिया खोला गाउँ पसेको छ । खोला गाउँ पस्दा २६ घरका १२५ जना विस्थापित भएका छन् । उनीहरूलाई वडा कार्यालयको भवनमा राखिएको छ ।

सोमबार मध्यरातदेखि निरन्तरको वर्षाको कारण धेरै क्षेत्र जलमग्न भएको छ । वर्षाको कारण विस्थापित हुनेको सङ्ख्या बढ्नसक्ने भएकोले सतर्क रहन भनिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । सम्भावित जोखिम क्षेत्रमा प्रहरी परिचालन गरेर उद्धारको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =