विराटनगर महानगरले बनायो विपद् व्यवस्थापन रेस्पोन्स टिम

विराटनगर । अविरल वर्षाका कारण उत्पन्न हुने बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विराटनगर महानगरपालिकाले विपद् व्यवस्थापन (बाढी) रेस्पोन्स टिम बनाएको छ ।

महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा बसेको आकस्मिक बैठकले महानगरवासीको जिउधनको रक्षाका लागि रेस्पोन्स टिम बनाएको हो । टिमले उद्धारसँगै राहत वितरण, विस्थापितको व्यवस्थापन लगायतको कार्य गर्नेछ । विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानको संयोजकत्वमा सहकार्य समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सामाजिक महाशाखा प्रमुख पुनम दाहाल रहनु भएको छ ।

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, बसोबास (सेल्टर) व्यवस्थापनमा दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापनमा राजन पौडेल, स्वास्थ्य, पोषण, औषधि तथा स्वच्छतामा रमेश कार्की, सरसफाइ, विपद् व्यवस्थापनमा हीरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापनमा अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मीनकुमार नवोदित रहेका छन् ।

बैठकमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीको जिउधनको रक्षाका लागि जिम्मेवारीपूर्वक लाग्न निर्देशन दिए । उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिए । उपप्रमुख शिल्पा निराला कार्कीले बाढी र डुबानबाट विस्थापितहरूको व्यवस्थापनमा महानगर लागिपरेको बताइन् । स्थानीय संघसंस्थासँग सहकार्य गरेर विपद्को सामना गर्नुपर्ने उल्लेख गरिन् ।

प्रशासकीय अधिकृत उमेश बस्नेतले जोखिमयुक्त बस्तीको पहिचान भइसकेकाले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको बताए । बस्नेतले विस्थापितहरूलाई विद्यालय र सामुदायिक भवनमा राखिने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =