महामन्त्री बर्ताैलाकाे आराेप- निर्मल निवास अझै फाेहाेरी खेलमा लिप्त छ, नराेकिए प्रत्युत्पादक हुन्छ

नेपालगञ्ज । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्तिहरू लिप्त रहेकाे बताएका छन् । साेमबार बाँके जिल्लाको नेपालगञ्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले साझा र अभिभावक राजाको रूपमा बस्ने स्वभाव र चरित्र नभएकोले राजा ज्ञानेन्द्रको पुनरागमनको कुनै सम्भावना नभएको जिकिरसमेत गरेका छन् । ‘व्यापार व्यवसाय, नाचगान, खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ,’ महामन्त्री बर्ताैलाले भने, ‘त्यसमा नै रमाउँदा राम्रो हुन्छ । राजसंस्थाप्रति सम्मान छ, विराेध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नुपर्याे नि । राप्रपा नेपालमा लागेका मान्छेहरूलाई नलाग, छोड भनेर लोभ, आश्वासन दिएकाे सूचना र प्रमाण छ । त्यो आपत्तिजनक छ ।’
यस्तै उनले राजाका सचिवहरूले फाेन गरेर राप्रपा नेपालका नेता/कार्यकर्ताहरूलाई हैरान पारेकाे रिपार्टीङ्ग आफूसँग भएकाे बताए । ‘राजाकाे व्यवहार,चरित्र र चिन्तनका कारण धेरैले एजेन्डा छोड्दै गएका छन् । यस्तै फुच्चे दाउमा लागिररहे थप प्रत्युत्पादक हुन्छ । चाँडै सच्चिँदा राम्रो हुन्छ,’ उनले भनेका छन् ।
महामन्त्री बर्तौलाले राजाको व्यापार व्यवसायमा सफलता र दीर्घ जीवनकाे शुभकामनासमेत दिए ।








