को हुन् दुबईकाे राजकुमार भनिएका शेख, उनले दुर्गा प्रसाईंलाई सुनकाे लाैराे दिएका हुन् ?

काठमाडाैँ । नेपाल भ्रमणमा आएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले झापा पुगेर व्यापारी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंसँग भेट गरेपछि मूलतः २ वटा कुराले चर्चा पायाे । पहिलाे- उनी दुबईका राजकुमार हुन्, दाेस्राेः उनले प्रसाईंलाई सुनकाे लाैराे उपहार दिए ।
दुबईका राजकुमार बिना कुनै चर्चा र तयारी नेपाल आएको खबर धेरैका लागि संशयपूर्ण थियो । तर उनकाे भ्रमण सकिँदानसकिँदै उनी दुबईकाे राजकुमार नभई त्यहाँकाे राजपरिवारकाे सदस्य (अधिराजकुमार) भएकाे हुन् ।
मक्तुम राजपरिवारकै सदस्य भएपनि राजकुमार नहेरकाे नेपालस्थित युएई दूतावासले उनकाे भ्रमणकाे सन्दर्भमा परराष्ट्र मन्त्रालयलाई लेखेकाे पत्रमा समेत उल्लेख छ । उक्त पत्र मकालुखबरसँग सुरक्षित छ । साथै, हामिले राजकुमार भनेर कतै उल्लेख नगरेको र अधिराजकुमारलाई नेपाल भ्रमणको लागि बोलाएको बी एण्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमेश गिरी बताउछन् ।
त्यस्तै, मक्तुमले दुबई राजपरिवारकाे एबीएम नामक व्यापारिक संस्थानकाे प्रमुखका रूपमा काम गर्ने गरेकाे जानकारी एमबीएमकाे वेबसाइटमा उल्लेख छ ।
मक्तुमले प्रसाईंलाई सुनकाे लाैराे दिएका हुन् ?
उनकाे नेपाल भ्रमणसँगै चर्चा रहेकाे अर्काे विषय हाे, उनले व्यापारी दुर्गा प्रसाईंसँगकाे भेटमा दिएकाे उपहार । अधिराजकुमार मक्तुमले व्यापारी प्रसाईंसँगकाे भेटमा सुनाैलाे देखिने एउटा लाैराे उपहार दिए । प्रसाईंलाई सुनाैलाे लाैराे दिएकाे खबर सार्वजनिक भएसँगै मिडियामा साे लाैराे सुनकाे भएकाे चर्चा चल्याे । हामीले तथ्य जान्न बी एण्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमेश गिरीलाई सम्पर्क गर्दा उनले उक्त लाैराे सुनकाे नभएकाे जानकारी दिए । उनले भने, ‘लाैराे सुनकाे हाेइन, खै कसरी यस्ताे हल्ला चल्याे थाहा भएन ।’
अरबमा कसैलाई आदरपूर्वक उपहार दिँदा सुनकाे लाैराे दिने प्रचलन रहेकाे तथ्य इन्टरनेटमा भेटिन्छ ।









