इप्पानद्वारा बिजुली निर्यातको स्वागत, निजी क्षेत्रलाई पनि व्यापारकाे अनुमति दिन माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले वर्षायाममा नेपाललाई खपत गरेर बढी भएको विद्युत् भारतमा निर्यात सुरु गरिएकोमा त्यसको स्वागत गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपाललाई खपत गरेर बढी भएको विद्युत् भारतमा निर्यात गर्न थालेको हो । प्राधिकरणको यस कदमले विद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने नेपालको बहुप्रतिक्षित सपना साकार हुने इप्पानले बताएको छ ।
‘अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद् कुरा हो,’ इप्पानले भनेको छ, ‘यसले आगामी दिनमा नेपालको जलविद्युत्ले छिमेकी मुलुकमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वास निर्माण गरेको छ । नेपालको विद्युत् व्यापारको यस्तो प्रगतिशील कदमले उर्जा क्षेत्रका निजी लगानीकर्तामा ठूलो आशा, विश्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा देशी, विदेशी लगानीकर्ता थप आकर्षित गराउने निश्चित छ ।’
विद्युत् निर्यातका लागि प्राधिकरणले भारतीय कम्पनी मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडी बढेको छ । छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभीभीएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ ।
यसबाट प्राधिकरणले आगामी असार १७ गतेदेखि कात्तिक २९ गतेसम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । सम्झौताअनुसार मानिकरणले एनभीभीएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।
ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएकोले नै यो उपलब्धी नेपालले पाउन सकेको इप्पानले जनाएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्र संलग्न भएको हो । हाल वर्षा याममा १००० मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ । यसरी बढ़ी हुने १००० मेगावाट मध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ तथापी बांकी ४३६ मेगावाट को भने अझै बजार खोज्नु पर्ने इप्पानले जनाएको छ ।
विद्युत् व्यापारमा अहिले नेपाल सरकारको मात्र सहभागिता रहेको र वर्षेनी ठूलो परिमाणमा विद्युत उत्पादन हुन थालेकोल विद्युत उत्पादन, प्रसारण र वितरण अब सरकारले मात्र गर्न नसक्ने इप्पानको भनाई छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्ने इप्पानले जनाएको छ ।
साथै, विद्युत बजारको सुनिश्चितता हुँदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने विद्युतको खरिद बिक्री समझौता पनि सुचारु हुने इप्पानले जनाएको छ ।









