खोला ठेक्का लगाएर प्रकृति दोहन नगर्न धरानको मेयर साम्पाङको प्रस्ताव

विराटनगर । प्रकृति दोहन गर्न नहुने एजेण्डा धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यपालिकाको बोर्ड बैठकमा ल्याएपछि चर्काचर्की भएको छ ।
निर्वाचनपछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बसेको हो । बैठकमा मेयर हर्क साम्पाङले नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने प्रस्ताव ल्याएपछि हलमा खैलाबैला भएको हो । मेयर राईले खोलाको दोहन हुने भन्दै प्रकृतिलाई क्षति हुने खालको निर्णय नगर्ने प्रस्ताव ल्याएपछि विवादित स्थिति सिर्जना भएको हो ।
विगतमा खोला दोहन हुँदा धेरै क्षति पुगेकाले प्रकृति दोहन गर्न नहुने प्रस्ताव ल्याएका थिए । उनले विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने निर्णय गर्न छैठौँ नं मा ल्याएको प्रस्तावमा अन्य सदस्यले असहमति जनाएका हुन् ।
अधिकांश वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आय स्रोत गुम्ने भन्दै असहमति जनाएका हुन् । खोलालाई बीचमा च्यानलिङ नगर्दा वर्षामा बाढी आएर बस्ती जोखिममा पर्ने भन्दै आइइइ रिपोर्ट अनुसार ठेक्का लगाउनुपर्ने वडा सदस्य तथा अन्य सदस्यको भनाइ थियो ।
मेयर राईले भने कुनै पनि हालतमा उत्खनन् गर्न ठेक्का नलगाउने अडान लिएपछि बैठकमा चर्काचर्की परेको थियो । छलफलको क्रममा मेयर आफ्नो प्रस्तावमा अडिग बसेपछि उपमेयर अइन्द्रबिक्रम बेघाले मेयरको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलले दिएको प्रतिवेदनअनुसार निर्णय गर्ने भनेपछि कार्यदल बनेको छ ।
कार्यदलको सदस्य सचिव नगरपालिकाको वातावरण महाशाखा प्रमुख रहने र सदस्यहरूमा खोला भएको सम्बन्धित वडाका अध्यक्षहरूलाई राख्ने निर्णय भएको छ ।
काठमाडौँ महानगरपालिकामा जस्तै धरान उपमहानगरपालिकामा पनि कार्यपालिकाको बैठकको सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।









