बाँदरमुढे घटनाकाे १७ वर्ष पूरा, न्याय कुर्दै बसेका छन् घाइते

चितवन । चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षको थिए । त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ । कृष्ण अहिले ५० वर्षको भए तर कृष्णलाई लाग्छ घटनाको घाउ अझै आलै छ । पीडा जस्तो थियो त्यस्तै छ ।

कृष्ण भन्छन्– ‘१७ वर्ष भयो घटना सम्झिँदा पनि गाह्रो हुन्छ, छोडौं कसरी छोडौं रु निरन्तर लाग्दा त न्याय पाइएको छैन, छाड्दा आस पनि मर्छ ।’

२०६२ साल जेठको २३ गते माडीको बाँदरमुढेमा तत्कालीन विद्राही नेकपा माओवादीले यात्रुबाहक बसमा विद्युतीय बम विष्फोट गराएको थियो । विद्युतीय बम विस्फोटबाट ४२ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये ३ जना नेपाली सेना पनि थिए ।

सर्वसाधारणको ज्यान लिने गरी गरिएको उक्त घटनालाई मानवताविरोधी घटनाको रूपमा सर्वत्र आलोचना गरिँदै आएको छ ।

समय बित्दै जाँदा राज्यले भने घटना बिर्सिंदै गएको अनुभूति बाँदरमुढेका घाइतेहरूले गरिरहेका छन् । उनीहरू भन्छन्– ‘दोषी पहिचान गरी कारबाही नगरिएसम्म हामीले न्याय पाउँदैनौं ।
हाम्रो न्यायलाई राज्यले अनिर्णयको बन्दी बनायो, कृष्ण भन्छन्– ‘हामी पीडितहरूलाई राज्यले मतलब गरेन ।’

कृष्णका अनुसार घटनाका घाइतेहरू समय बित्दै जाँदा झन् समस्यामा परेका छन् । घाइतेमध्ये अहिले १० जना हाराहारी ढाड, टाउको लगायतका गम्भीर खालको समस्यासँग जुधिरहेका छन् ।
कृष्णको पनि सोही एम्बुसमा परेर दुबै खुट्टा, ढाड र छातीको करङ भाँच्चिएको थियो । लामो समयसम्म राम्रो उपचार नपाएर बैशाखी टेकेरै हिँड्नुपर्‍यो । ७ वर्षअघि देब्रे खुट्टामा स्टिल राखिएको छ । पलेंटी कसेर बस्न मिल्दैन । लामो बाटो हिँड्न मिल्दैन ।

यमकला चुवाइँ पनि बाँदरमुढे घटनाकै घाइते छन् । एम्बुसमा पर्दा यमकला ९ महिनाको गर्भवती थिए । आँखामा बमको छर्रा लाग्यो । खुट्टा भाँच्चिए । घटना लगत्तै हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गराएका कारण यमकला बाँच्नुभयो । उनकाे गर्भमा रहेको बच्चा पनि बाँच्यो ।

सोही घटनाको कारण आमा र बच्चा दीर्घकालीन समस्या लिएर बाँचिरहनुभएको छ । यमकलाले घाइते अवस्थामै छोरी अञ्जनालाई जन्म दिइन् । छोरी अञ्जनाको मुटुले लामो समयसम्म राम्रोसँग काम गरेन । जन्मिएको ५ महिना त अस्पतालमै राख्नुपर्‍यो ।

‘छोरी अहिले पनि सुस्त छन् । हत्तपत्त कुरा बुझ्नुहुन्न । औषधी नियमित खुवाउनुपर्छ ।’ यमकला भन्छन्– ‘मेरो त दिन बित्दै जाँदा समस्या थपिँदै गएको छ ।’

समय बित्दै जाँदा शरीरमा समस्या झन् थपिँदै गएको यमकला बताउँछन् । यमकलाका अनुसार महिनाको ३ हजार हाराहारीको खर्चले आमाछोरीको औषधिको खर्च पुग्नेमा अहिले बढेर पाँचरसात हजारसम्म पुगेको छ ।

राज्यले दिएको केही रकम यमकला, कृष्ण र अरु केही घाइतेहरूले पाएका छन् तर, पटक पटक धाएर दिने केही रकमले जीवका कसरी चल्छ ?

विष्णुमाया विक सोही घटनाकी घाइते छन् । १४ महिने छोरी सुस्मितासहित उहाँ दुर्घटनामा पर्नुभएको थियो । उनकाे दाहिने खुट्टा भाँचिनुका साथै टाउकोमा पनि चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो ।

छोरी र श्रीमती घाइते देखेपछि श्रीमान् चन्द्रबहादुरले मानसिक सन्तुलन नै गुमाए । विष्णुमायाको शरीर घाइते भएकाले दैनिक कामकाज गर्नसमेत कठिन हुन्छ । ‘उहाँ शरीर दुखेर काम गर्न सक्नुहुन्न, बाँचेर पनि मरेको जस्तो जिन्दगी छ । राज्यले कहिले हेर्छ हामीलाई ?’ उनले सीमित रूपमा दिने नगद भन्दा पनि जीवन निर्वाह हुने सहयोग राज्यबाट हुनुपर्ने माग गर्नुभयो ।
यमकला, कृष्ण, विष्णुमाया सबै भन्छन्– ‘राज्यले हामीलाई जीविकोपार्जनको लागि सहयोग गरेन ।

अहिले घाइते र मृतकका परिवार सबैको एउटै माग छ, राज्यले दोषी पहिचान गरोस् र उनीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानून अनुसारको सजाय सुनिश्चित गरोस् ।

आफ्नै उमेरका साथीहरूले समाजमा प्रगति गरिसके तर आफू भने बाँदरमुढे भन्दै न्यायको लागि दौडिरहनुपर्दा घाइतेहरूलाई थप पीडाको महसुस भइरहेको छ ।

अधिकारी भन्छन्– ‘दिन बित्दै जाँदा आफ्नो पीडा बल्झिँदै गएको छ अरुले सँधै बाँदरमुढे घटना भजाएर खान्छ भन्ने आरोप लगाउँछन् । राज्यले १७ वर्षको पीडादायी जीवनको क्षतिपूर्ति र मानवता विरोधी अपराध गर्नेलाई कारबाही गरिदिए फेरि बाँदरमुढे भन्दै भौंतारिनु नै पर्दैन नि ।’
आज घटनाको १७ वर्ष बित्दा घटनाका घाइते र मृतकका परिवारले माडीको बाँदरमुढे खोलाका किनारमा बनाइएको बाँदरमुढे स्तम्भमा मृतकको स्मृति र घाइतेको स्वास्थ्य लाभको कामना गरी सभा गर्दैछन् ।

घटनापछि शान्ति सम्झौता हुँदै तत्कालीन नेकपा माओवादी राज्यको शक्तिको रूपमा आइसकेको छ । अधिकांश घाइते र पीडित माडीकै छन् । माडी नगरपालिका नै यसअघि माओवादीकै मेयर थिए तर पटक पटक घाइते र मृतकका परिवारलाई अल्झाउने काम माओवादीबाटै भएको उनीहरूको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यको उमेदवार हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडित केही परिवारसँग लिखित ३ बुँदे सहमति पनि गर्नुभएको थियो । मतदाता प्रभावित गर्न गरिएको सो सहमति अर्को निर्वाचन आउन लाग्दा समेत कार्यान्वयनमा नआउँदा भने घटनाका घाइते झन् निराश भएका छन् । स्राेतः INS

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =