महानगर मातहतका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन माग

विराटनगर । विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् ।

कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा खटिएको स्मरण गर्दै कार्कीले महानगर मातहत भएका स्वास्थ्य संस्थाहरूलाई भौतिक संरचना र स्रोत साधनयुक्त बनाउन आवश्यक रहेको बताए ।

अवसरमा महानगरका मेयर नागेश कोइरालाले आफूहरूले कुनै कर्मचारीलाई निर्देशन नदिने तर सहज रूपमा काम गर्ने वातावरण भने जनप्रतिनिधिले बनाइदिने बताए । उनले सबैको ज्ञान, सीप र अनुभवबाट महानगर बनाउने उल्लेख गरे ।

विराटनगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको विकासका लागि राजनैतिक विचारभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले बेग्लाबेग्लै पार्टीबाट जितेर आए पनि महानगरभित्र राजनीति पस्न नदिने उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =