विश्व वातावरण दिवसमा साइकल र्याली, विराटनगरमा साइकल लेनको माग

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल र्याली, सरसफाई र वृक्षारोपण गरिएको छ ।
प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल र्याली, वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो । विराटनगरस्थित हिमालय रोडबाट शुरू भएको साइकल र्याली शनिमन्दिर, बिजुली अफिस, मुनालपथ, सोमबारे हाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियो ।
साइकल र्यालीको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका थिए । मुनालपथमा सरसफाई गरिएको थियो भने विराटनगर वडा नं २ को सोमबारे हाटमा वृक्षारोपण गरिएको छ । कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, विराटनगर वडा नं २ का वडाध्यक्ष कुमार पोखरेल लगायतले वृक्षारोपण गरे ।
साइकल र्यालीको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा साइकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए । हाल सञ्चालनमा रहेका सडकमा साइकल लेन बनाउँदा साँघुरो हुने बताउँदै उनले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । ‘सञ्चालनमा रहेका अहिलेका सबै सडक छुट्टै साइकल लेन बनाउनका लागि उपयुक्त छैनन्, कोइरालाले भने, अन्य विकल्प खोज्नुपर्छ, मैले चुनावमा प्रतिबद्धता पनि जनाएको थिएँ, केसलिया र सिंघिया खोलामा तटबन्ध बनाउने, अब त्यहाँ बन्ने सडकमा साइकल लेन बनाउनुपर्छ ।’
कार्यक्रममा बुद्धिजीवी दिनेश श्रेष्ठले साइकलप्रति युवाहरूको आकर्षण बढ्दै गएकोले साईकल लेन आबश्यक रहेको चर्चा गरे । स्वास्थ्य र वातावरणका लागि साइकल चलाउनु निकै नै उत्तम हुने उनको भनाई छ । ‘विश्वका सम्पन्न राष्ट्रमा राष्ट्रप्रमुख नै साइकलमा हिँड्छन्, धनीहरू कारमा हिँड्दैनन्’, उनले भने, साइकलमा हिँड्नु पछाडिको कारण भनेको स्वास्थ्य र वातावरण जोडिएको छ । उनीहरू आफ्नो स्वास्थ्य र मुलुकको वातावरणप्रति सजग छन् ।’
सन् २०५० सम्ममा खनिज इन्धनमुक्त भविष्य भन्ने नाराका साथ साइकल र्यालीको आयोजना गरिएको थियो । कार्यक्रममा दिगो विकासका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले साइकल लेन निर्माणलाई आगामी बजेटमा समेट्नुपर्नेमा जोड दिए ।
साइकल प्रयोगलाई प्रोत्साहित गर्दा वातावरणमा सन्तुलन आई जलवायु परिवर्तनको असर कम हुँदै जाने उनले दाबी गरे ।









