हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक निर्वाचन राप्रपाकाे प्रस्ताव

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रम अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।
प्रदेश नं १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।
क्षेत्र, वर्ग , समुदायका ब्यक्तित्वहरू सङ्ग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भाबी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए । पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतीक पक्ष र महत्त्व, आर्थिक अवधारणा , बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार , कुशासन लगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत भएको बताए ।
मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् सड्ढटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गरेका थिए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलता बाट जोगाउन सबै क्षेत्रबाट दलिय स्वार्थ र वाद भन्दा माथी उठेर सोच्नु पर्नेमा जोड दिए ।
यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले आज विराटनगरमा उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे । संगठन निर्माणलाई केन्द्रमा राखेर उच्च मनोबल सहित जनतामा जान समेत थापाले कार्यकर्ताहरूलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश १ नम्बर भित्रका केन्द्रीय पदाधिकारी सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा जिल्ला अध्यक्ष सहित प्रतिनिधिहरूको सहभागीता रहेको छ ।









