स्व. गीता माझीको गाउँमा घरघरै गीताकै नियती

चितवन । ‘लोग्ने हो अलिअलि त कुटिहाल्छन् नि’, २० वर्षकी सन्जु भन्छिन्, ‘म सुत्केरी छु । चार वर्षको छोरी र मलाई पकाउने चामल पनि छैन । लोग्नेलाई जेल पठाएर मलाई कसले खुवाउँछ ?’
सन्जु माझीको काखमा एक महिनाको छोरा दूध चुसिरहेको छ । सुत्केरी सन्जुले हिजोमात्रै श्रीमानको कुटाइ खाइन् । रक्सी खाएर सुत्केरी श्रीमतीलाई कुटेको देखेपछि इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली आएर सन्जुको श्रीमान जितनलाई लिएर गए ।
सन्जु र यहाँका महिलाका लागि श्रीमानको कुटाइ सामान्य जस्तै हो । अनि सामान्य नै त्यही कुटाइको दाग हरेकजसो महिलाको शरीरमा देखिनु ।
यो गीता माझीको बस्ती हो । उनै गीता, निर्दयी लोग्ने रामचन्द्रको निर्मम कुटेपछि उपचारको क्रममा ज्यान गएकी गीताको बस्ती ।
दुईतिर चिटिक्क पारेर बनाइएका एकै आकारका घर । बीचमा भुईँमा छापिएको टायलले अझ बस्ती सफाचट देखिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खुर्खुरेबाट करिब १० मिनेट मोटरसाइकल यात्रामा केही बिग्रिएका सडक पार गरेपछि पुगिने त्यो बस्तीको चट्ट मिलेको भौतिक बनावटले झट्ट आँखालाई चङ्गा बनाउँछ ।
भुईँमा छापिएको टायलको चिटिक्क बाटोमा दस पाइला हिँडेर पुगिने पहिलो घरदेखि नै देखिने भित्री दृष्यले भने बस्तीकै कुरूप दृष्य छर्लङ्ग हुन्छ । सुगम चितवनको नमुना मध्ये गनिएको एक नगरपालिका खैरहनी १०, कठारको माझी (तराई दलित) बस्ती हो यो ।
बिहीबार दिउँसो पहिलो घरमा एक पुरुष भेटिए । उनका आँखा राता थिए, मदिराको नशामा बेहोस झैँ देखिन्थे । उनीसँग कुरा गर्नै लाग्दा स्कुटरमा खैरहनी १० मा भर्खरै चुनिएका दुई महिला जनप्रतिनिधि आइपुगे ।
‘आज आउन मानिन, रक्सी खान्न भनेर वचन मान्छस् भने भोलि जसरी नि लिएर आउँछौँ ।’ वडा सदस्य मीरा चौधरीले हर्कार्दै भने । घरभित्र पस्दै जयश्री माझीले बर्बराउन थाले, ‘नकुट्ने भनेपछि कुट्दैन दिदी । ल्याइदिनुस् बुढी ।’
जयश्रीले बोल्दा परसम्म रक्सी को गन्ध ह्वास्स आयो । उनकी श्रीमती फूलमतियाले छोड्नुको कारण पनि त्यही रक्सी नै रहेछ । फूलमतीया बस्तीकै लागि चाहिने सामानहरू बेच्न सानो पसल चलाउँथिन् । छोराछोरीको रेखदेख गर्थिन् । जयश्री भने केही काम नगर्ने, रक्सी खाएर मात्रै बस्ने भएपछि हैरान भएर उनले श्रीमानलाई छोडिन् । उनी केही समयदेखि जयश्रीभन्दा टाढा गएर आफ्नै बुताले कमाइ गरेर बसेकी छन् ।
अलि पर गीता माझीको घर । अहिले गीता र रामचन्द्रका तीन छोरी मध्ये सबैभन्दा कान्छी छोरी १४ वर्षकी सुष्मिता आमाको किरिया गरिरहेकी छन् ।
श्रद्धाञ्जलीको लागि बनाएको तस्वीरमा लोग्नेले कुटेको आँखाको दागसहित गीता स्थिर छिन् । रामचन्द्रको कुटपिटपछि मृत भौतिक शरीर उनका तीन छोरीले जेठ १६ गते सतगत गरिसकेका छन् । संस्कार अनुसार कान्छी छोरी आमाको किरियामा छन् ।
घरिघरि आमा गीताको स्थिर तस्वीर हेर्छिन् । खुइय गर्छिन् । त्यो १४ वर्षको बालक हृदय कति चिरिएको होला, उनीबाहेक को जानुन् !
माटोको दियोमा धिपधिप बलिरहेको बत्तीझैँ आमाको याद आउँदो हो, प्रतिक्रिया के गरुन् १४ वर्षकी अबोध । कयौँ पटक उनकै अगाडि बुबा रामचन्द्रले आमालाई कुट्थे । आमालाई जोगाउन जाँदा उनले थप्पड कयौँ पटक खाएकी थिइन् । ‘बाउले आमालाई मारिहाल्छ भन्ने त लागेको थिएन’ यतिमात्रै उनले प्रतिकृया दिइन् ।
अहिले गीता त्यहाँको पुरुषमाझ श्रीमती हप्काउने ‘आइकन’ बनेकी छिन् । ‘मात्छेस्, तँलाई पनि गीताकै हालत बनाउँछु’ यस्तै बोलेर सुत्केरी सन्जुका श्रीमान् जितनले कुटेका थिए । तर, पनि त्यही श्रीमान नभइ बिहान बेलुकाको चुल्हो बल्ने अवस्था छैन ।
चार दिनयता यहाँका महिलाहरू दिनभरजसो गीताकै घर अघि बसेर आआफ्ना कुराहरू सुनाउने दिनचर्या चलिरहेको छ । घटना ठूलो भएपछि मानिसहरू आउजाउ गरिरहन्छन् । केही रकम लिएर आउँछन् । हस्तान्तरण गर्छन् । एकदुई प्रश्न गर्छन्, महिलाहरूलाई । उनीहरूको काम चाहिँ, आउनेहरूलाई जवाफ दिने अनि मृत्युमा आउनेहरूले उत्सव झैँ खिचेका झल्याकझुलुक तस्बिर हेर्ने, आफूहरू पनि सहभागी हुने जस्तो मात्रै देखिन्छ ।
बिहीबार त्यही बीचमा थिइन् सन्जुकी सासू छिङुरी माझी । सन्जुको श्रीमान जितन जन्मिएपछि छिङुरीको श्रीमान मरे । त्यसपछि छोराछोरी छोडेर त्यही टोलका भोलासँग उनले विवाह गरिन् । शरीर हेर्दा उनी ६० उमेरभन्दा कमको देखिन्नन् । उमेर पक्का गर्न छिङुरीसँग जन्म, विवाह, नागरिकता जस्ता उमेर खुलाउने कुनै कागजात छैन । न त उनलाई आफ्नो जन्म मिति नै याद छ ।
उनको मात्रै होइन यो बस्तीका २८ घरमा बस्ने कसैसँग पनि राज्यले चिन्ने कागजात छैन । हरेक घरमा कम्तिमा ४ सदस्य छन् । राज्यले बसोबासको व्यवस्था गरिदिए पनि उनीहरूको लागि पहिचानको कुनै प्रकृया अघि बढेको छैन ।
छिङुरीले सुनाइन्, ‘मलाई त बुढाले आँखा लगाउँछ । अरु आइमाइले त किन कुटाइ नखानु !’
छिङुरीको अनुसार ७० हाराहारीको उनको श्रीमान् भोलाले बुधबार राती रक्सी खाएपछि, ‘दिउँसो कुन केटासँग गइस्’ भन्दै कुट्ने गर्छन् । । आँखा लगाउनु अर्थ टोलका कुनै न कुनै पुरुषसँग एकअर्काको नाम जोड्दै श्रीमानले कुटपिट गर्ने रहेछ ।
उनीहरूको निचोडमा गीताको मृत्यु पनि त्यही आँखा लगाएको आरोपमै भएको हो । गीताकी माहिली छोरी १६ वर्षकी निशाले भनेकी थिइन्, ‘मेरी आमा सोझी थिइन्, बाले सँधै आँखा लगाएर कुट्थे ।’
यहाँ एकाध बाहेक दिनभरजसो पुरुषहरू घरमा भेटिँदैनन् । उनीहरू दिनभर ज्याला मजदुरी गर्छन् । चितवनमा दैनिक काम गर्ने पुरुषको ज्याला एक हजार रूपैयाँ घटी छैन ।
तर, खैरहनी नगरपालिका र संघीय सरकारले तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत करिब सवा करोड खर्चिएर बनाइदिएको तीन कोठे घरमा एकदुई जोर लुगा, केही थान भाँडाकुँडा र एकदुई थान ओढ्ने ओच्छ्याउने बाहेक चामल पनि मुस्किलले स्टक भेटिन्छन् ।
‘बचत गराउन कति कोसिस गरेपनि सकिएन’ वडा सदस्य मीरा चौधरीले भने, ‘दिनभर कमाएको रक्सी खाएर सकाउँछन् अनि हरेक घरमा दिनदिनै कुटपिट हुन्छ ।’ त्यही कुटपिटबाट कुनै घरका महिला बाँकी नभएका मीराको निष्कर्ष छ । स्राेतः INS न्यूज









