सेनिटर प्याडमा नेपाल आत्मनिर्भर, तर सरकारले दियो आयातमा भारी भन्सार छुट

काठमाठौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने नीति लिएको देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटदेखि आयात ३० प्रतिशतले घटाएर निर्यात २० प्रतिशतले बढाउने लक्ष्य लिएको बताएका छन् ।

आत्मनिर्भर भएका र हुन सक्ने वस्तुको आयात घटाउँदै लैजाने मात्रै नभई सम्भावित वस्तुको निर्यात बढाउने नीति बजेटले लिएको देखिएको छ । यसरी ५ वर्षभित्र वैदेशिक व्यापारमा सन्तुलन कायम गर्ने उनले पत्रकार सम्मेलन गरेर समेत बताइसकेका छन् । तर, सरकारको नीति एकातिर र व्यवहार वा काम भने अर्कोतिर भएको देखिन्छ । सरकारको बोलि र व्यवहारमा फरक देखिएको छ ।

सेनिटरी प्याडका लागि नेपाल आफ्नै उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा सरकारले आगामी बजेटमार्फत प्याड आयातमा लिँदै आएको भन्सार दर स्वात्तै घटाएको छ । प्याड आयातमा हालसम्म सरकारले १५ प्रतिशत भन्सार महशुल लिँदै आएको थियो । तर, आगामी आर्थिक वर्षदेखि यस्तो वस्तुको आयातमा १.५ प्रतिशत मात्रै भन्सार लिने गरी दर तोकिएको छ ।

नेपाल सेनेटरी प्याड उत्पादक संघको तथ्यांकअनुसार नेपालमा प्याड उत्पादन गर्ने ठूला साना गरी ४० वटा उद्योग सञ्चालनमा छन् । यी उद्योगमा ६ अर्बको लगानीछ । र यी उद्योगले ९० करोड थान सेनेटरी प्याड उत्पादन गर्न सक्ने क्षमता छ । यी उद्योगमा ६ हजार जनाले रोजगारी पाएका छन् । ती मध्ये अधिकांश महिला रहेका छन् । हालको नेपाली बजारमा वार्षिक ३० करोड थान प्याडको मात्रै माग रहेको छ । नेपालमा उत्पादन हुने प्याडको विश्व गुणस्तरको भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत प्राप्त गरेका छन् ।

यस्तो अवस्थामा सरकारले प्याडमा लाग्दै आएको भन्सार महशुल १५ प्रतिशतबाट घटाएर १.५ प्रतिशतमा झार्दा विदेशी प्याडले नेपालमा बजार लिने देखिएको छ । अर्कोतर्फ नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थ ल्याउँदा भन्सार महशुल १ प्रतिशत लाग्ने गरेको छ । त्यस्तै देशभित्रै उत्पादन हुने प्याडमा प्याकेजिङ मेटेरियलमा ५ प्रतिशत अन्तशुल्क लिँदै आइएको छ । यसबारे बजेट मौन बसेको छ । यस्तो दोहोरो मापण्ड बोकेको सरकारको नीतिले नेपाली प्याड उत्पादक कम्पनी विस्थापित हुने देखिएको छ ।

नेपाली प्याड उद्योग विस्थापित भएको अवस्थामा हाल वार्षिक १ अर्ब ५० करोडको हाराहारीमा आयात हुँदै आएको प्याड अबको ५ वर्षमा कम्तिमा ७ अर्ब ५० करोडको आयात हुन थाल्नेछ । यसले सरकारले वा बजेटले लिएको व्यापार सन्तुलन कायम गर्ने लक्ष्यलाई सघाउँदैन । र, आत्मनिर्भर अर्थतन्त्रको विकासमा समेत सघाउँदैन ।

आयातित उत्पादनलाई प्रोत्साहन गर्ने र स्वदेशी उद्योगको उत्पादनलाई निरुत्साहित गरी धराशयी पार्ने सरकारको यो नीति सच्च्याउनु पर्ने प्याड उत्पादक संघले सरकारसँग माग गरेको छ । संघले मंगलबार रिपाेर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी यस्ताे माग गरेकाे हाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =