वाग्मती सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने

हेटौँडा। वाग्मती प्रदेश सरकारले ज्यादै लोकप्रिय र प्रभावकारी मानिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । वाग्मती सरकारले प्रदेशका १३ जिल्लामै यो कार्यक्रम लागू गरेको छ ।
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ र ०८० को लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक विद्यालय एक नर्स कार्यक्रमलाई अझ बढाउँदै र प्रभावकारी बनाउँदै लैजाने बताए ।
प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम पेश गरेपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्ने प्रदेश सरकारले जनाएको छ ।
उच्च शिक्षाका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रम र ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने वाग्मती प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारीलगायतका विषयलाई प्राथमिकता दिएको जनाएको छ ।









