सामान्य विवादबाट भएको थियो हत्या, तीन पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका -२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान खेतको आलिमा मृत भेटिएका श्रेष्ठको हत्या भएको प्रहरीको दाबी छ ।
हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका -१ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका -१ कै २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।
आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका -१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका व्यक्तिको बारेमा जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलीले उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरी डग स्नाफिङ गरेको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै पक्राउ गर्न सफल भएको उनले बताए ।
आपसी विवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









