विराटनगरवासीलाई डुबानबाट मुक्त गर्न काम शुरु भइरहेको छ : कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले वर्षाको समय आएकाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम शुरु भएको बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जसरी हुन्छ यसपटकको बर्खामा महानगरवासीलाई डुबानबाट मुक्त गर्ने गरी काम भइरहेको प्रस्टाए । त्यसका लागि इन्जिनियरहरूलाई स्पष्ट खाका बनाउन निर्देशन दिइसकेको उनको भनाइ छ । ‘महानगरभित्रका सबै नाला सफा गर्ने काम सुरु भइसकेको छ,’ उनले भने, ‘इन्जिनियरहरूलाई कहाँकहाँ पैनी, ठूला नाला, खोला सफा गर्नुपर्छ त्यसका लागि खाका लिएर आउनु भनेको छु ।’
मेयर कोइरालाले सबैको सहयोगले पाँच वर्षभित्र विराटनगरलाई सफा, सुन्दर र गर्व गर्न लायक बनाउन सकिने बताए । कोइरालाले अनेकौँ सम्भावना हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको बताए । उनले सबैको साथ र सहयोगले सफा, सुन्दर, हरियाली र आत्मनिर्भर महानगर बनाउने प्रतिबद्धता जनाए । ‘हामीले कार्यभार सम्हालेको धेरै दिन भएको छैन, आजको भोलि परिवर्तन हुँदैन,’ उनले भने, ‘सफा, सुन्दर, हरियाली र हरेक विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने हाम्रो लक्ष्य छ ।’
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश-१ का कोषाध्यक्ष राजेश गुप्ताले विराटनगर प्रदेश १ को राजधानी भएकाले विकास हुनु जरुरी रहेको उल्लेख गरे । उनले संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर सडक पूर्वाधारसहितको विकासमा जोड दिन सुझाव दिए ।
कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईँले जनप्रतिनिधिहरूले झिनामसिना विषयमा नअल्झी जनमुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए । ‘नागरिकको आवश्यकता के हो त्यसमा ध्यान दिनु पर्ने अवस्था छ,’ चापागाईँले भने, ‘मेयरसहित सबै जनप्रतिनिधिहरूलाई आग्रह गर्दछु तपाईँहरू अब सानातिना कुरामा नअल्झी जनअपेक्षाअनुसार काम लाग्नुहोस् ।’
उनले महानगरवासीको अपेक्षा धेरै भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे । त्यस्तै नवनिर्वाचित वडाध्यक्ष विश्वनाथ भगत (लालु)ले जनताको सेवामा सधैँ सक्रिय हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ की सभापति अनुजा कोइरालाले सबैको साथ र सहयोगले विराटनगरमा मेयर कांग्रेसले जितेको बताइन् । उनले वडा नम्बर ९ मा अध्यक्षसहित सबै पदमा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् ।









