स्थानीय तह निर्वाचनमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेद्वारमध्ये नगरपालिका प्रमुखमा ७, गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकासहित धरान उपमाहनगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । काठमाडौँमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको हो ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजय भएका हुन् ।
स्वतन्त्र उम्मेदवार उपप्रमुख २ र उपाध्यक्षमा २ जना निर्वाचित भएका छन् । वडाध्यक्षमा स्वतन्त्र तर्फबाट १३६ जना निर्वाचित भएका छन् । ती मध्ये १३३ पुरुष र ३ महिला छन् ।
महिला सदस्यमा ६०, दलित महिला सदस्यमा ५५ र पुरुष सदस्य ११७ जना स्वतन्त्र तर्फबाट निर्वाचित भएका छन् ।









