मेयरमा हारेपछि स्थापितले भने, म पटकपटक धुलाे टक्टक्याएर उठेको व्यक्ति हुँ
काठमाडाैँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयर तथा उपमेयर क्रमशः बालेन साह र सुनिता डंगाेललाई बधाइ ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै स्थापितले दुवैलाई बधाइ दिएका हुन् । त्यस्तै, उनले लाेकतान्त्रिक अभ्यासमा हारजित स्वाभाविक भएकाे उल्लेख गरेका छन् ।
आफू पटकपटक धुलाे टक्टक्याएर उठेकाे मान्छे भएकाे बताउँदै उनले हारलाई सामान्य रूपमा लिएकाे समेत बताएका छन् । ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’
त्यस्तै, उनले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिँदै राम्रा कामकाे समर्थन र कमजाेरीकाे खबरदारी गर्ने उल्लेख गरेका छन् ।
‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईंले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु।’