ओलीको आलोचना गर्ने चरण सकियो, अब काम गर्नुपर्छ -गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षीको आलोचना गर्ने चरण सकिएको टिप्पणी गरेका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको उल्लेख गर्दै कांग्रेस अब काम गर्नुपर्ने चरणमा प्रवेश गरिसकेको बताएका हुन्। अब तीनै तहका सरकार कांग्रेसको जिम्मामा आइपुगेकाले काम गरेरै देखाउनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले भने,  ‘स्थानीय तहमा हामीले झण्डै-झण्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौँ। संघीय सरकारामा हामी छौँ। प्रदेशको सरकार चलाएका छौँ। अब आलोचना गर्ने चरण सकियो। हाम्रो बारेमा कुरा गर्नुपर्छ। अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा कुरा गर्नुपर्थ्यो। आलोचना गर्नुपर्थ्यो।’

निर्वाचनमा गएर जनताले त्यसको उत्तर समेत दिइसकेको अवस्थामा विगतका कुरा उठाइरहन अब जरुरी नभएको उनले बताए। पछिल्लो निर्वाचनबाट कांग्रेसले अझै लोकप्रियता कमाएको बताउँदै उनले सिट मात्रै नभई मतदाताको संख्यामा समेत वृद्धि भएको उनले बताएका हुन्। उनले भने,  ‘ हामी जुन लोकप्रिय मत भन्छौँ, त्यो बढेको छ। मतदाताको संख्या बढेको छ। कहिलेकाहीँ सिट बढेपनि लोकप्रियता नबढ्न सक्छ। तर यसपटक दुवै बढेको छ।’

अब नेपाली कांग्रेस आमचुनावको तयारीमा लाग्नुपर्ने उल्लेख गर्दै यही ४/५ महिनाको बीचमा आगामी ५ वर्ष सरकार चलाउने जिम्मा कांग्रेसले पाउँदा राम्रो गरेर देखाउने कुरामा आश्वस्त पार्नुपर्ने समेत महामन्त्री थापाको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *