यो मेरो अन्तिम कार्यकाल हो, महानगरका अधुरा योजना पूरा गर्छु : रेनु दाहाल (अन्तर्वार्ता)

भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल निर्वाचित भएकी छन् । उनको भरतपुर महानगरको मेयर पदमा दोस्रो इनिङ सुरु भएको छ । २०७४ सालको निर्वाचनमा पनि भरतपुरको मेयर पदमै निर्वाचित भएकी दाहालले यसपटक भरतपुर महानगरका अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।

दाहाल ५२ हजार ३० मत ल्याएर विजयी भएकी हुन् । भरतपुरमा  १ लाख २७ हजार ५०८ मत खसेको थियो । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका थिए । रेनु दाहालको समयमा सुरु भएका भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, पुल्चोक–गोन्द्राङ ६ लेन सडक, लिंकरोड र रिंगरोड लगायतका ठूला आयोजनाहरू सम्पन्न भएका छैनन् ।

उनले आफ्नो भरतपुर महानगरमा दोस्रो इनिङ सुरु हुँदै गर्दा यी आयोजनाहरू पूरा हुने बताएकी छन् । निर्वाचित भएपछि रेनु दाहालसँग पत्रकारहरूले गरेको संवादलाई यहाँ प्रस्तुत गरिएको छ ।

भरतपुर महानगरमा फेरि मेयर पदमै निर्वाचित हुनुभएको छ, कसरी अघि बढ्नुहुन्छ ?

मलाई भरतपुर महानगरवासीले फेरि मेयर पदमा निर्वाचित गराउनुभएको छ । म सर्वप्रथम महानगरवासी सम्पूर्णमा धेरै-धेरै धन्यवाद दिन चाहन्छु । यसअघि भरतपुर महानगरपालिकामा मेयरमै निर्वाचित भएको थिएँ, अब फेरि महानगरवासीले मेयरमा जिताएसँगै मेरो दोस्रो कार्यकाल सुरु भएको छ । यसअघि महानगरवासीले माया गरेर जिताउनुभयो, फेरि अपार मायाका साथ जिताउनुभयो ।

म महानगरवासी जनताले गरेको यो विश्वासलाई गुमाउन चाहन्नँ । कहीँ कतै महानगरवासीलाई निराश हुन दिने छैन । स्थानीय तहमा यो मेरो अन्तिम कार्यकाल हुनेछ । जनताको भावना बुझेर अघि बढ्छु । तेरो मेरो भन्ने भेदभावले काम गर्नेछैन ।

मेयरमा निर्वाचित भएसँगै केके नयाँ योजनाहरू ल्याउनुहुन्छ ?

मैले यसअघिकै कार्यकालमा धेरै ठूला योजनाहरू सुरु गरेको छु । ती योजनाहरू पाँच वर्षमा पूरा हुन सकेका छैनन् । सुरुवात भएका छन्, कति आयोजनाहरू निर्माणाधीन अवस्थामै छन् । अधुरा योजनाहरू पूरा गर्ने संकल्प मेरो रहन्छ । सिटी हल निर्माणाधीन अवस्थामै छ । क्रिकेट रंगशाला निर्माण रोकिएको छ । पुल्चोक गोन्द्राङ सडक निर्माण हुँदैछ ।

यसबाहेक देवघाटको विद्युतीय शवदाह गृह, लिंकरोड लगायतका थुप्रै आयोजनाहरू पूरा भएका छैनन्, सुरु भएका छन् । मैले जनतासामु पूरा नभएका ठूला आयोजनाहरू पूरा गर्छु भन्ने वाचा गरेका छु । ती आयोजनाहरू अबको कार्यकालमा मैले पूरा गर्ने नै छु भन्ने प्रतिबद्धता जनाउन चाहन्छु । पुराना योजनाहरू सम्पन्न गरेपछि नयाँ योजनाहरू पनि अघि बढाउँला, तर मेरो प्राथमिकता पुराना योजनाहरू सम्पन्न गर्नमै रहन्छ । भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिनेछु ।

समग्र भरतपुर महानगरको विकासलाई कसरी अगाडि बढाउनुहुन्छ ?

मेरो दोस्रो कार्यकाल समग्र भरतपुर महानगरको विकासमै खर्च गर्ने हो । मैले अगाडि नै भने स्थानीय तहको यो मेरो अन्तिम कार्यकाल पनि हो । अधुरा काम पूरा गर्नलाई महानगरवासीले जिताउनुभएको भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ निरन्तर लाग्नेछु ।

महानगरमा मैले पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेका छन् । मैले मेरो पहिलो कार्यकालको पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाको टिकट निःशुल्क गरेको थिएँ । त्यो अहिले अन्य पालिकाले पनि फलो गरेका छन् । समग्र भरतपुर महानगरको विकास सिस्टमबाट गर्नेछु । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरूप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्नेछु । भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढे पनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान दिनेछु ।

पाँच दलीय गठबन्धन कहिलेसम्म रहन्छ ?

अहिले बनेको पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि हो । यो लामो समयसम्म जानेछ । यो भत्किहाल्ने, टुटिहाल्ने हुन्छ जस्तो मलाई लाग्दैन । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारिता प्रकट गरेकाले जित भएको हुनाले यसलाई लामो समयसम्म लानुपर्छ भन्ने धारणा मेरो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =