झण्डै ५ सय पालिकाले ६ जेठबाट नयाँ जनप्रतिनिधि पाउने
स्थानीय तह प्रतिनिधिको कार्यकाल ५ जेठबाट सकिँदै

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे पदावधि ५ जेठ अर्थात् भोलि सकिँदै छ । ६ जेठबाट पुराना जनप्रतिनिधिहरू कार्यालय जाने छैनन् । त्यसो हुँदा ६ जेठबाट देशभरका पालिकामा हाल भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व लिनुपर्ने छ । तर सबै पालिकामा ५ जेठभित्रै निर्वाचनको अन्तिम मत परिणाम आउने सम्भावना देखिँदैन ।
‘स्थगित भएका समेत सबै ठाउँको मतदान जेठ ६ गते सकिने भएको छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘महानगरहरूमा मत गणनाले निकै समय लिएको छ । त्यसो हुँदा जेठ १५ गतेसम्ममा सबै पालिकाका जनप्रतिनिधिको सपथ ग्रहण र पदबाहाली सम्पन्न भइसक्ने अनुमान हामीले गरेका छौँ ।’
उनका अनुसार जेठ ६ गतेसम्ममा देशभरका कम्तीमा ५ सय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेर पदबहाली गर्ने सम्भावना देखिएको छ ।
पालिकाका मेयर वा अध्यक्षले जिल्ला न्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ । मेयर तथा अध्यक्षले सपथ लिएकै दिन उसले पालिकाका वडा अध्यक्षलगायतका पदावधिकारीको सपथ गराउनु पर्ने व्यवस्था छ ।
त्यसकारण पालिकाका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको अन्तिम नतिजा नआउँदासम्म विजयी वडा अध्यक्षहरूले समेत सपथ ग्रहण गर्ने र जिम्मेवारी लिन पाउने छैनन् ।









