मिक्लाजुङमा गठबन्धनको वर्चस्व : ३ वडामा कांग्रेस, १-१ मा माओवादी र एमाले विजयी
विराटनगर । मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको मत गणना सकिँदा ३ वटा वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ। वडा नम्बर १ मा ९२१ मत ल्याउँदै नेपाली कांग्रेसका पर्वत राई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उमेश राईले ७०२ मत प्राप्त गरे ।
त्यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसकै बलबहादुर राईले ६०६ मत प्राप्त गर्दै जीत हासिल गरे । नेकपा एमालेका गौरीप्रसाद राईले ३५१ मत मात्र ल्याए । वडा नम्बर ३ मा नेकपा एमालेका सन्तोषकुमार मगर निर्वाचित भएका छन् । उनले ८९८ मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र मादेन लिम्बुले ८६५ मत मात्र प्राप्त गरे ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका विशाल राईले ९०८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लेनिन राईले ७६६ मत ल्याए । वडा नम्बर ५ मा भने नेकपा माओवादी केन्द्रका मेघनाथ तामाङ निर्वाचित भएका छन् । उनले ३८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रताप राईले ३५३ मत मात्र प्राप्त गरे ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका बवीकुमार राईले ३७३८ मत प्राप्त गर्दा नेकपा एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले २५१५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दिनेश पौडेलले २८८७ मत ल्याउँदा नेकपा एमालेकी निर्मला राईले २४५२ मत मात्र प्राप्त गर्दै पछ्याई रहेकी छिन् ।









