यस्ता छन् ८ रोचक मतपरिणाम

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा केही रोचक परिणामहरु समेत देखिएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भइसकेका केही वडाहरुमा यस्तो रोचक नतिजा देखिएको हो ।

यस्ता छन् रोचक परिणाम

१. एक मतले हार–जित
काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका आशाराम गोलेले १ भोट कम ल्याएर हारेका छन् । माओवादीका थिङले ५४८ मत ल्याउँदा एमालेका गोलेले ५४७ मत ल्याएका छन्।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले पनि १ मतले जितेका छन् । रेशमराजले ७५६ मत ल्याउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखरले ७५५ मत पाएका छन् ।

२. दुई मतले हार–जित
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन २ मत बढी ल्याएर विजयी भए । लालचनले ७६० मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्।

३. प्रधानमन्त्री देउवाको गृह वडामै कांग्रेस पराजित
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको छ । वडाध्यक्षका उम्मेदवारलाई नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारीले पराजित गरेका हुन् ।

४. उपमेयरका उम्मेदवारले पाए जम्मा १ मत
मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।

५. दाजुले हराए भाइलाई
इलामको रोङ गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइ नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई हराएका छन् । मनोहरीले ६१० र मनोजले ४८८ मत पाएका छन्।

६. बराबर भएपछि गोलाप्रथाबाट विजयी
रोल्पा नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र नेपाली कांग्रेसका देउचन घर्ती मगर दुबैले ५४३/५४३ मत प्राप्त गरेका छन् । गोलाप्रथाबाट डाँगी विजयी भएका छन् ।

७. स्वतन्त्रका सबै उम्म्दवार वडामा विजयी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष र अरु ४ जना स्वतन्त्रका वडा सदस्यका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

८. पूर्वमन्त्रीसमेत रहेकी एमाले सचिवकै श्रीमान वडा सदस्यमा पराजित
स्याङजाको वालिङ नगरपालिका १ बाट वडा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मीपति पौडेल पराजित भएका छन् । पराजित पौडेल नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान हुन् भने उनलाई नेपाली कांग्रेसका सम्भव पौडेलले पराजित गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =