चितवनमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था कडा

चितवन । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा तयारी तीव्र बनाइएको छ । निर्वाचनको बेला चितवनमा जुनसुकै बेला जे पनि घटना घट्नसक्ने कारणले जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेपाली कांग्रेसका वाग्मती प्रदेश कमिटीका प्रतिनिधि अनिल परियारको हत्या भएपछि प्रहरीले चितवनको सुरक्षा व्यवस्था कडा पारेको छ ।
चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएका निर्वाचन कार्यालय चितवनले जनाएको छ । चितवनमा १६१ मतदानस्थल रहेका छन् । ४५१ मतदान केन्द्रमा कर्मचारी पुगेर धमाधम निर्वाचनको तयारी गरिरहेका छन् ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी मतदान केन्द्रमा खटाइएको र निर्वाचनको लागि तयारी तीव्र पारिएको उनले बताए ।
निर्वाचनमा जिल्लामा म्यादी प्रहरीको संख्या एक हजार ६५१ जना रहेको छ । जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भइरहेको छ । उनले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
मतदानस्थललाई अति संवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ ।
जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग्री मतदान अधिकृत र सहायक अधिकृतले जिम्मा लिएर यतिबेला निर्वाचनको तयारीमा जुटेका उनले बताए ।
मतदाता संख्याको आधारमा कर्मचारीको संख्या बाँडफाँट गरिएको छ । प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयम्सेवक खटिने छन् । त्यस्तै मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी पाँचजना खटिनेछन् ।
कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् ।









