मतपत्र च्यातेर होइन, जनताको मन जितेर चुनाव जितिन्छ : देवी ज्ञवाली

भरतपुर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर होइन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् ।

नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रमअन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताए ।

ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले भरतपुरबासी आजित भएको भन्दै महानगरको सक्षम नेतृत्वका लागि एमालेका उमेदवारलाई मतदान गर्न अनुरोध गरे । एमाले चितवनका जिल्ला इन्चार्ज समेत रहेका ज्ञवालीले विकासको चर्काे गफ गर्ने तर यथार्थमा महानगर भताभुङ्ग भएको बताए ।

गएराती परेको एकझरको पानीले गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहीँ देखिएको बताए । नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिका वडा नं १० को अध्यक्षको उमेदवार भक्ति गौतमले पानीको निकाससहितको विकास गर्ने बताएका छन् ।

विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउँदा दिनमा आफ्नो नेतृत्वले ढल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उनले पहिलो काम नै डुबान समस्या मुक्त गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =