अर्थमन्त्रीले भने– सवारी आयात केही समयलाई मात्रै रोकिएको हो, नआत्तिनुस्

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिएका छन् । नाडाका अध्यक्ष धु्रव थापा नेतृत्वमा गएको व्यवसायीको प्रतिनिधि टोलीको भेटमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ,’ उनले भने, ‘यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो ।’

अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताए ।

अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको आरोप लगाउँदै उनले नाडा प्रतिनिधिलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे ।

नाडा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्ब ५० अर्ब भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए ।

सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायले गरिरहेको अवरोध खुलाउन आग्रह गर्नु भएको थियो । त्यसैगरी उनले काठमाडौँमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरबारे माननीय मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए ।

छलफलमा नाडाका अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सीमा नाकाबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरेका थिए ।

छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरि दिन आग्रहसमेत गरेका थिए ।

छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =