मध्यमर्स्याङदी आयोजनाबाट बिजुली उत्पादन बढ्यो

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ ।

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङदी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए ।

विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ ।

सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =