मोरङमा गठबन्धन अनिर्णित, एमाले प्रचारमा

विराटनगर । निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ दलहरू बिच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बारेमा केन्द्रदेखि नै निर्णय भएर आएको छ ।

केन्द्रले गरेको निर्णय कसरी कार्यान्वायन गर्ने भन्ने बारेमा गठबन्धन दलहरू नै अलमलमा देखिएका छन् । २ दिन अघि मात्र बिराटनगरमा बसेको गठबन्धन दलहरूको प्रदेश स्तरीय बैठकले कुनै महत्वपुर्ण निर्णय लिन सकेन ।

केन्द्रीय निर्णय र नीति अनुसार सबै जिल्ला र पालिकामा गठबन्धन दलको साझा उम्मेदवार बनाउने बारेमा छलफल भएपनि कुनै निर्णय प्रदेशबाट नभएको नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री प्रमिला गच्छदारले गठबन्धन दलहरू बिचमा छलफल भएपनि उम्मेदवारहरू छान्ने र पालिका बिभाजन गर्ने जिम्मेवारी पार्टी जिल्ला कमिटिलाई दिने निर्णय भएको बताइन् । ‘गठबन्धन कसरी बलियो बनाउने र साझा उम्मेदवार बनाउने बारेमा सबै अधिकार जिल्लालाई दिइएको छ’, उनले भनिन्, तत्काललाई प्रदेशले कुनै निर्णय गर्न सकेको छैन ।’

प्रदेशले जिल्लालाई अधिकार दिने निर्णय गरेको भएपनि जिल्लामा पनि एक चरण मात्र छलफल भएको छ । चैत १८ गते होटल स्टर्नस्टारमा बसेको गठबन्धन दलको बैठकले पालिकाको अबस्था, कार्यकर्ताको भावना बुझेर अघि बढ्ने निर्णय गरेको छ । गठबन्धन गर्ने–नगर्ने, गर्दा कहाँ–कहाँ गर्ने भन्ने बारेमा आबश्यकताको आधारमा अर्को बैठकमा छलफल गर्ने भएको जनता समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार तोक्ने दायित्व केन्द्रको नै भएकोले गाउँपालिका र नगरपालिकाको निर्णय जिल्ला र प्रदेशलले गर्ने जनाइएको छ । गठबन्धनभित्र छलफल गरेर कुन पालिकामा को उम्मेदवार उठाउने भन्ने बारेमा नटुङगिएको अबस्थामा दलहरूले चुनावी गतिविधिलाई भने तीव्र राखेका छन् । वडा वडाबाट उम्मेदवारको नामावली संकलन गर्ने क्रम जारी रहेको दलहरूले बताएका छन् ।

’वडा अध्यक्ष टुंगो लगाउन गाउँपालिका र नगरपालिकामा सिफारिसहरू आईरहेको छ, यादवले भने, गाउँपालिका र नगरपालिकाबाट जिल्लामा सिफारिस भएर आउन बाँकी छ । ‘वडा अध्यक्ष टुंगो लगाउने जिम्मेवारी भने वडालाई नै दिइएको यादवले बताए । यदि कुरा नमिलेको अबस्थामा वडा र पालिकाको उम्मेदवार संभाबित ३ जना उम्मेदवारको नाम जिल्लामा पठाउन भनिएको उनले बताए ।

मोरङको अंकगणित
जिल्लास्थित गठबन्धनले पनि कुनै निर्णय गरेको छैन । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको बिचमा चुनावी तालमेल गर्ने सहमती भएको छ । त्यसैको आधारमा प्रदेश, जिल्ला र स्थानीय तहसम्म छलफल भईरहेको भएपनि मोरङ जिल्लामा स्थानीय तहमा कसरी तालमेल गर्ने भन्ने बारेमा घनीभूत छलफल अझै अघि नबढेको नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

यस अघिको निर्वाचनमा नेपाली कांग्रेसले मोरङको बिराटनगर महानगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सी नगरपालिका, बुढिगंगा तथा कटहरी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । त्यस्तै उर्लावारी, लेटाङ, रतुवामाई, सुन्दर हरैँचा नगरपालिका र केरावारी गाउँपालिकामा प्रमुख पदमा विजयी भएको थियो ।

गठबन्धनभित्रको नेकपा माओवादीले जितेको रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश गरेपछि माओवादी नेतृत्व बिहिन अबस्थामा छ भने जहदा गाउँपालिकामा दुबै पद जनता समाजवादी पार्टीले जितेको थियो । नेपाली कांग्रेसको तर्फबाट ग्रामथानमा एमालेले प्रमुख जित्दा उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो ।

पथरीशनिश्चरे, बेलवारी नगरपालिका मिक्लाजुङ र केरावारी गाउँपालिकामा प्रमुख उपप्रमुख एमालेले जितेको थियो । उर्लावारी, रतुवामाई, सुन्दरहरैँचा, लेटाङ नगरपालिका र केरावारी गाउँपालिकामा उपप्रमुख एमालेले जितेको थियो । तालमेल हुँदा के कसरी जान्छ त्यो अहिलेसम्म एकिन भएको छैन ।

एकल तयारीमा एमाले
नेकपा एमालेले पनि चुनावी प्रचारमा देखिन्छ । कुन पालिकामा को उम्मेदवार हुने भन्ने टुंगो भने लगाएको छैन । पार्टी कार्यालय खोल्ने, चुनावी गतिविधि गर्ने बाहेकका कुनै पनि निर्णय नभएको नेकपा एमाले जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।

नेकपा एमालेले मोरङमा टोल भेला, घरदैलो अभियानहरू सञ्चालन, उम्मेदवार छान्नका लागि वडा तहको संयन्त्रको बैठक बस्ने काम भएको उनले बताए । चैत २० देखि २५ गतेभित्र सर्वसम्मत रुपमा वडा संयन्त्रको बैठक राखी वडा अध्यक्ष र सदस्य सहितको टिम छानिसक्न सर्कुलर जारी भएको सचिव खतिवडाले बताए ।

‘वैशाखको पहिलो हप्ताभित्र पालिका संयन्त्रको बैठक बसेर छलफल चलाई प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गर्ने तयारी भएको छ’, उनले भने, ‘संयन्त्रले सहमति गर्न नसकेको अवस्थामा निर्वाचन क्षेत्र स्तरीय संयन्त्र र जिल्ला संयन्त्रको सहयोगमा तल्लो तहमा नै गएर छलफल गर्ने र सर्वसहमति गर्ने तयारी छ ।’

सचिव खतिवडा गठबन्धनलाई जित्नको लागि एमाले एक्लै काफी रहेकोले सहज चुनाव जित्ने दाउमा रहेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =